चितवनमा पहिलो अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी

दुग्ध उत्पादनको व्यवसायिकतासँगै उद्यमशीलता प्रवर्द्धनको उद्देश्य
माघ २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
चितवनमा पहिलो अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी

चितवन । नेपालको डेरी उद्योग ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ हो । 

जसले लाखौं किसानको जीविकोपार्जनमा योगदान दिइरहेको छ। दुग्धजन्य उत्पादनको व्यवसायिकतामा लागेका किसानहरूलाई प्रोत्साहन, उत्पादन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी भएको छ। पाँच दिने प्रदर्शनीबाट देशभरका किसानले लाभ लिएका छन् ।

पाल्पाको तिनाउँ गाउपालिका वडा नं.६ का प्रेमनारायण भण्डारी चितवनमा चलिरहेको पहिलो अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी निकै उत्सुक देखिनु हुन्थ्यो । घरमा चारवटा गाई पाल्नु भएका भण्डारीलाई डेरी प्रदर्शनीले ध्यान खिचेको थियो । उहाँलाई डेरी उद्योगबारे सबै जानकारी लिन पाइएको यो प्रदर्शनी अवलोकन गर्ने अवसर प्रदान गरेको थियो - डुम्रे दुग्ध कृषि सहकारी संस्था पाल्पाले । 

साना होस् या ठूला, सबै किसानलाई मध्यनजरमा राखेर अन्तर्राष्ट्रिय स्तरमा पहिलोपटक आयोजित यो प्रदर्शनीले किसानहरू लाभान्वित भएका छन् । माघ २५ गतेदेखि भरतपुर-१०, चितवन प्रदर्शनी केन्द्रमा भएको डेरी प्रदर्शनी अवलोकनका लागि देशका विभिन्न जिल्लाहरूबाट किसानहरू सहकारी संस्थाको माध्यमबाट चितवन आएका छन् । 

उनीहरूले प्रत्यक्ष रूपमा डेरीजन्य उद्योगहरूलाई चाहिने नयाँ-नयाँ उपकरणहरू, घरमै गाईभैसी पाल्न चाहिने अत्याधुनिक उपकरण, दूधको उत्पादन बढाउन गाईभैसीलाई चाहिने पौष्टिक आहार, घाँस खेतीका लागि चाहिने उपकरणहरू हेर्ने र त्यसको उपलब्धताबारे जानकारी लिएका छन् । 

बाछाबाछीका लागि घर, पानी खुवाउने ट्यांक, डेरी उद्योगका लागि चाहिने अत्याधुनिक उपकरण, सहकारी संस्थाहरूले चलाएको डेरीका लागि किसानलक्षित सफ्टवेयरलगायतका नविनतम उपकरणहरुप्रति किसानको आकर्षण देखिन्थ्यो । प्रदर्शनीमा नयाँ-नयाँ उपकरण मात्रै होइन किसानहरूलाई कसरी व्यवसायिक बन्न सकिन्छ भन्ने ज्ञानगुनका कुरा पनि सिकाइएको छ । 

पिशुपालनमा देखिने रोग र उपचार विधि, दूधको गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रविधिको प्रयोग, दूध उत्पादनको वर्तमान अवस्था र बजारको समस्या, समाधानलगायतका विषयमा अन्तरक्रियात्मक कार्यक्रमहरू समेत भएका छन् । किसानलाई प्रविधिसंग जोडेर व्यवसायिक बनाउन यो प्रदर्शनी आयोजना गरिएको छ ।

प्रदर्शनीमा डेरी उत्पादन, पशुपालनमा प्रयोग हुने सामग्रीहरू, पशु औषधि तथा भेटनरी सेवा सम्बन्धीका स्टलहरू समेत छन् । विगतका वर्षहरूमा अन्य प्रदर्शनीका बखत डेरी क्षेत्रलाई थोरै स्थान दिएर प्रदर्शनी गरिँदै आएको थियो । गत वर्ष सामान्य रूपमा डेरी प्रदर्शनीको सुरूवात गरिएकोमा यसपटक अझै बृहत बनाएर पहिलोपटक अन्तर्राष्ट्रिय डेरी प्रदर्शनी गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.