काठमाडौं । पछिल्ला वर्ष उद्योग तथा कार्यस्थलमा काम गर्दागर्दै श्रमिक घाइते हुने र मृत्यु हुने घटना बढिरहेका छन् ।
बर्सेनि दुई सयभन्दा बढीको मृत्यु र २० हजार घाइते हुने गरे पनि व्यवसायजन्य दुर्घटनासम्बन्धी तालिम र अभिमुखीकरण नहुँदा ऊर्जाशील जनशक्ति गुमाईरहनु परेको छ । व्यवसायजन्य सुरक्षासम्बन्धी तालिम तथा कार्यक्रम त छन् । तर, ती सबै झारा टार्ने किसिमिका छन् ।
विराटनगरबाट निर्माण सामग्री बोकेर सुनसरीतर्फ जाँदै गरेको एउटा ट्रक दुर्घटना बिहिबार बिहानै पाँच कामदारको मृत्यु भयो। अन्य केही घाइते छन्। खासमा ति कामदार ट्रकमै सवार थिए। मार्बल बोकेको ट्रकमा उनीहरू मार्बलमाथि नै बसेर यात्रा गरिरहेका थिए।
श्रमिकको सुरक्षाका लागि उद्योगीका तर्फबाट कुनै प्रबन्ध नहुँदा कामदारहरूले यसरी अनाहकमा ज्यान गुमाइरहेका छन्। राज्यकै तर्फबाट पनि कार्यस्थलमा श्रमिकको सुरक्षाका बारेमा अभिमुखिकरण गर्ने गरेकै छैन। निर्माण तथा उद्योग क्षेत्रमा बौद्धिक भन्दा शारिरिक श्रम गर्नेहरू यसरी सधैं जोखिम मोलेर काम गर्नुपर्ने बाध्यतामा छन्।
गत असोज २९ मा चितवनको रत्ननगरस्थित किसान फिड इन्डस्ट्रीमा पर्खाल ढल्दा तीन श्रमिकको मृत्यु भयो भने दुई जना घाइते भए । जेन-जी आन्दोलनमा क्षतिग्रस्त भाटभटेनी स्टोरको भवन मर्मतका क्रममा कात्तिक २३ मा दुई श्रमिक गम्भीर घाइते भए ।
घाइतेको त अभिलेख समेत राख्ने गरिँदैन। उद्योगीले समेत कामदारको सुरक्षाका लागि पर्याप्त प्रोटोकल अपनाउने र तालिम प्रदान गर्ने क्रम न्यून छ। अन्तर्राष्ट्रिय श्रम संगठनकाअनुसार कार्यस्थलमा नेपालमा वार्षिक दुई सयभन्दा धेरै श्रमिकको मृत्यु हुने गरेको छ । व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका विषयमा अभिमुखीकरण तालिम नपुगेको उद्योगीहरू पनि स्वीकार गर्छन्।
श्रमका लागि छिमेकी मुलुक पुग्ने नेपाली श्रमिकसमेत सुरक्षित छैनन्। गत पुस २९ मा मात्रै भारतको हिमाचलस्थित सोनाल जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास विस्फोट हुँदा सल्यानका दुई परिवारका ९ जनाको मृत्यु भयो । ग्यास स्टोरमा रहेको ग्यास विस्फोट हुँदा माथिल्लो तलामा सुतिरहेका ती श्रमिकले ज्यान गुमाए ।
सुरक्षाका विषयमा जानकारी नै नभएका उनीहरूलाई ग्यास स्टोरमाथि हुने जोखिमबारे थाहै भएन । भारतमा यसरी कार्यस्थलमा ज्यान गुमाउने वा घाइते हुने नेपालीको पनि सरकारसँग रेकर्ड छैन। उता खाडी र मलेसियामा बर्सेनि ६ सयभन्दा बढी नेपाली नागरिक व्यवसायजन्य असुरक्षाका कारण घाइते हुने गरेका छन् ।
नेपालमा व्यवसायजन्य सुरक्षा सुनिश्चित गर्न २०७४ को श्रम ऐनले मजदुरको सुरक्षा गर्ने, कामको प्रकृतिअनुसार सुरक्षा उपकरण र प्रशिक्षण अनिवार्य गरेको छ । निर्माण सुरक्षा निर्देशिकामा भवन निर्माण, मेसिनरी र उचाइमा काम गर्दा सुरक्षा नियम पालन गर्न निर्देशित गरेको छ । तर, निर्माण, औद्योगिकजस्ता जोखिमपूर्ण क्षेत्रमा काम लगाउने रोजगारदातालाई सरकारले जिम्मेवार बनाउन सकिरहेका छैन । श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहत देशभर १३ वटा कार्यालय रहे पनि वार्षिक १ हजार श्रमिकले पनि प्रशिक्षण पाउँदैनन् ।