
विराटनगर । माघे संक्रान्तिका दिन खाइने तरूल, सखर खण्ड, सिमल तरूललगायतका परिकार बजारमा आपूर्ति बढे पनि मूल्य निकै बढेको गुनासो उपभोक्ताले गरेका छन् ।
तरुल एकसय रूपैयाँ, इस्कुसको जरा एकसय सय ६० रूपैयाँ र सखर खण्ड एक सय रूपैयाँ र सिमल तरूल ९० रूपैयाँ किलो पर्ने गरेको उपभोक्तको गुनासो छ । तरकारीका होलसेलदेखि खुद्रा पसलसम्म जता-ततै तरूल खरिद बिक्री गर्नेको भीड लागेको छ ।
विराटनगरको सब्जी मण्डीमा तरूलको चाङ लागाएर बिक्रीका लागि राखिएको छ । संक्रान्तिको मुखमा तरूलको भाउ बढ्छ भनेर उपभोक्ताहरूले हप्ता दिन अघिदेखि नै तरूल किनेर राख्ने गरेको व्यापारीहरू बताउँछन् । तरूलका साथै स्कुसको जरा, पिंडालु र सखरखण्ड पनि अत्यधिक बिक्री हुने गरेको व्यापारी बताउँछन् ।
विराटनगरमा पहाडी क्षेत्रबाट तरूल आयात गर्ने गरेको उनीहरूको भनाइ छ । तरूलका साथै बजारमा घिऊ, चाकु र तिलका सामाग्रीको किनमेल पनि बढेको छ ।