वित्तीय प्रणालीमा शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो

पुस ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
वित्तीय प्रणालीमा शंकास्पद कारोबार ३० प्रतिशतले बढ्यो

काठमाडौं । नेपालको वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दर बढेको छ । 

केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार शंकास्पद दर अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा रहेकाले शंकास्पद वित्तीय कारोबार बढ्नु सकारात्मक नरहेको जनाइएको छ । 

यो अवस्थामा वित्तीय प्रणालीमा शंकास्पद कारोबारको दर बढ्नु थप चुनौतीका रूपमा देखिएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा शंकास्पद कारोबार र गतिविधि ३० दशमलब तीन-पाँच प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यसको संख्या ७ हजार ३ सय ३८ रहेकोमा हाल ९ हजार ५ सय ६५ पुगेको छ । 

वित्तीय जानकारी इकाइको ‘गो एएमएल’ प्रणालीमार्फत प्राप्त भएका रिपोर्टहरूमध्ये ९ सय ४५ वटा वित्तीय सूचना प्रतिवेदनहरू अनुसन्धान र अभियोजनका लागि नेपाल प्रहरी तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ । रकमका आधारमा शंकास्पद कारोबारको सूचना ८२ दशमलब सात-पाँच प्रतिशतले बढेको छ । 

आर्थिक वर्ष २०८०/८१ मा २३ अर्ब २६ करोड २२ लाख रूपैयाँ बराबरको सात हजार तीन सय ३८ वटा उजुरी परेका थिए । गत आवमा बढेर ४२ अर्ब ५१ करोड १९ लाख रूपैयाँबराबरको नौ हजार पाँच सय ६५ वटा उजुरी परेका छन् । वार्षिक प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतंककारी कार्य तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत र सञ्चालनगत प्रगतिलाई समेटेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.