
काठमाडौं । वार्म अप खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएसँगै नेपालले आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि तयारी पुरा गरेको छ।
शुक्रबार टीयू क्रिकेट रंगशालामा भएको दोस्रो वार्म अप खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएसँगै तयारी सकिएको हो। अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो।
ओपनर सम्झना खड्काले विन्दु रावलसँग ४२ रनको साझेदारी गरेकी थिइन्। तारानम चोप्राले बिन्दुलाई २७ रनमा रनआउट गराइन्। १५ बलमा १७ रन बनाएर पुजा महतो क्याचआउट भइन्। २४ रन बनाएको अवस्थामा सम्झना पनि रनआउट भइकी थिइन्।
इन्दू बर्मा चार र कविता कुँवर तीन रनमै बाहिरिएपछि नेपालले खेलको लय गुमाएको थियो। यद्यपि छैटौं नम्बरकी कविता जोशीले २० र आठौं स्थानी रोमा थापाले १९ रन बनाएर खेललाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्याएकी हुन्। नेपालविरूद्ध अमेरिकाकी तारानुमले तीन विकेट लिइन भने सैनवी कम्बालापालीले दुई विकेट आफ्नो नाममा गरेका थिए।
एक सय ३७ रनको लक्ष्य पछ्याएको अमेरिकाले पाँच बल बाँकी रहँदै चार विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। अमेरिकी ओपनर गार्गी भोग्ले चार र तेस्रो नम्बरकी इला क्लियरिज १४ रनमा आएट भए। तर चेतना रेड्डीले इशानी भागहेलासँग ४४ रनको साझेदारी गरेर नेपालविरूद्ध कमब्याक गराएका हुन्।
४६ बलमा चार बाउन्ड्री प्रहार गरेर अविजित ५६ रन बनाउँदै चेतनाले पाहुना टिमलाई जिवन दिएकी थिइन्। इशानीले पनि २० रन जोडेकी थिइन्। अन्तिममा अदितिबा चुडासामाले १३ तथा रितु सिंहले १९ रन जोडिन्। नेपालका सुमन विष्ट, रिया शर्मा र रुविना क्षेत्रीले समान १-१ विकेट लिएका थिए।
वार्म अपको आफ्नो पहिलो खेलमा नेपालले आयरल्यान्डसँग पराजित भएको थियो। नेपालले अब छनोटको आफ्नो पहिलो खेलमा आइतबार थाल्यान्डको सामना गर्नेछ। वार्म आप अन्तर्गत दिउँसो भएको अर्को खेलमा बंगलादेशले थाइल्यान्डलाई ३४ रनले हराएको छ।