काठमाडौं । नेपाल र बंगलादेशबीच मंगलबार ढाकामा वाणिज्य सचिवस्तरको छलफल हुँदैछ ।
बैंठकमा व्यापार अभिवृद्धिदेखि पारवहनसम्मका विषय उठाइँदैछ । बैंठकमा नेपालको तयारी के छ ?
नेपाल र बंगलादेशबीच वार्षिक रूपमा हुने साढे पाँच अर्बको कारोवार सबैजसो डलरमै हुने गरेको छ । बंगलादेशको टाकालाई नेपालले अझै कानुनी मान्यता दिएको छैन् । दुबै देशका मुद्रालाई कानुनी मान्यता दिएर डलरमाथिको परनिर्भरता कसरी कम गर्ने सकिन्छ भन्ने विषयमा यसपटक छलफल हुँदै छ ।
त्यस्तै नेपालले बंगलाबन्ध बन्दरगाहको सुविधा कसरी लिन सक्छ भन्ने विषयमा पनि छलफल हुँदै छ । नेपाली व्यवसायीले भारतभन्दा बंगलादेश हुँदै सामान आयात निर्यातका लागि चटगाउँ र बंगलाबन्ध बन्दरगाहको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । मुख्यतया पारवहन र व्यापार लागतका विषयमा छलफल हुने सरकारी अधिकारीहरूको भनाइ छ ।
नेपालले वार्षिक ५ अर्बभन्दा बढीको व्यापार घाटा व्यहोरिरहेको छ । पछिल्लो पाँच महिनामा २ अर्ब ७८ करोडको वस्तु बंगलादेशबाट आयात हुँदा नेपालबाट २१ करोड १७ लाखको वस्तु निर्यात भएको थियो । नेपालबाट मसुरोको दाल, केराउ अलैंची, हातेकागज जस्ता वस्तु निर्यात हुने गर्छ भने बंगलादेशबाट रेडिमेट गार्मेन्ट, औषधी तथा स्वास्थ सामग्री, औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ । व्यवसायीहरूले दुबै मुलुकबीचको व्यापार सहजीकरण गर्न जोड दिँदै आएका छन् ।
बंगलादेशका लगानीकर्ताले नेपालमा लगानी भित्राउन खोजिरहेका छन् । नेपालमा उत्पादन हुने वस्तुमा अमेरिकी सरकारले लगाएको कर कम रहेको हुँदा नेपाली व्यवसायीसँग साझेदारीमा उद्योगमा लगानी गर्नेतर्फ उनीहरूको रूची छ । तर दुबै देशको मुख्य चासो भने एक अर्काका उत्पादनलाई बजारमा कसरी सहज बनाउने भन्ने नै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।