काठमाडौं । नेपालमा औपचारिक रुपमा प्राविधिक शिक्षाको सुरुवात भएको ४५ वर्ष भएको छ ।
पाँचौं पञ्चवर्षीय योजनादेखि नेपालले प्राविधिक शिक्षामा लगानी गर्न थाले पनि अझै पर्याप्त छैन । घरको धारा बिग्रिँदा प्लम्बर पाउन गाह्रो पर्नु, बिजुलीको तार बिग्रिँदा इलेक्टि्रसियनको खोजीमा दिन बित्नु वा होटल तथा उद्योगमा मेसिन बिग्रिँदा मर्मत गर्न सक्ने प्राविधिक नपाइनु अहिले सामान्यजस्तै भइसकेको छ । प्राविधिक र दक्ष जनशक्ति भेटाउन हामीले किन सकिरहेका छैनौं ?
नेपालमा पछिल्लो १० वर्षमा फुटवेयर क्षेत्रले फड्को नै मारेको छ । देशभर सयौंको संख्यामा रहेका उद्योगले बर्सेनि ८ करोड जोर जुत्ता चप्पल उत्पादन गरिरहेका छन् १५ करोड जोर जुत्ताचप्पल उत्पादनको सामथ्र्य भए पनि आधा क्षमतामा मात्र फुटवेयर उद्योग चलिरहेका छन् । ७० प्रतिशत जनशक्ति बाहिरबाट ल्याउनु पर्ने बाध्यतामा उद्यमीहरू रहेका छन् ।
फुटवेयरमा जस्तै नेपालको रैथाने उत्पादन हस्तकला तथा काष्ठकलामा पनि उस्तै समस्या छ । वार्षिक २७ अर्बको निर्यात क्षमता राख्ने हस्तकला क्षेत्रले दक्ष जनशक्ति पाउनै सकेको छैन । दक्ष जनशक्ति भएको अवस्थामा निर्यात दोब्बर गर्ने सक्ने भए पनि नयाँ प्राविधिक पाउन नसकेको यस क्षेत्रका जानकारहरुको भनाइ छ ।
फुटवेयर र हस्तकलामा मात्र होइन सबैजसो क्षेत्रमा दक्ष जनशक्तिको माग छ । तर, निर्माण क्षेत्रमा प्लम्बरदेखि पुलसम्मका प्राविधिकमा भारतमा निर्भर रहनुपर्ने बाध्यता छ । सामान्यदेखि उद्योग सञ्चालनका वरिष्ठ प्राविधिकसम्मको खाँचो रहे पनि अभाव खेपिरहेको व्यवसायी बताउँछन् ।
४५ वर्षदेखि प्राविधिक शिक्षामा लगानी खन्याएको राज्य अब भने विषयगत क्षेत्रका आधारमा प्राविधिक तालिममा केन्द्रित हुँदैछ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिस्कृत गरी ल्याइएको रोजगार कार्यक्रमका लागि करिब ३ अर्बको बजेट विनियोजन भएको छ ।
राष्ट्रिय तथ्याङक कार्यालयका अनुसार श्रम बजारमा बर्सेनि ५ लाख प्रवेश गरे पनि सरकारले ५० हजारलाई पनि प्राविधिक तालिम दिन सकिरहेको छैन । विज्ञहरुले अहिलेको अभाव टार्नका लागि र युवा पलायन रोक्न यस क्षेत्रमा ठूलो नीतिगत हस्तक्षेप गर्ने जोड दिँदै आएका छन् ।