
काठमाडौं । नेपालमा वितरण हुने पेट्रोलमा अब आयल निगमले इथानोल मिसाउन सकिने भएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी आदेश २०८२ स्वीकृत गरेसागै निगमले पेट्रोलमा इथानोल मिसाउन सक्ने बाटो खुला भएको हो । इथानोल उखु, सिमलतरुल, पराल, सुकेका घाासलगायतका वस्तुबाट उत्पादन गर्न सकिने रासायनिक पदार्थ हो ।
यससँगै अब पेट्रोलको मूल्यमा कमी आउने, पेट्रोलका लागि बाहिरिने रकम बचत हुने र वातावरण प्रदुषणमा समेत कमि आउने आयल निगमले जनाएको छ । तर यसका लागि केही वर्ष भने पर्खनुपर्ने छ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२ स्वीकृत गरेसँगै पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न मिल्ने भएको छ ।
अहिले बजारमा पेट्रालको मूल्य प्रतिलिटर १ सय ५९ रुपैयाँ छ । तर, स्वदेशमा उखु, सिमलतरुल, पराल, सुकेका घाासलगायतका वस्तुबाट इथानोल उत्पादन गर्ने हो भने त्यो १ सय २० रुपैयाँमा पेट्रोल पम्पसम्म नै पुग्छ । यसरी ३९ रुपैयाँ कमको इथानोल मिसाउँदा पेट्रोलको मूल्य नै घटाउने सम्भावना छ । तर, इथानोलमा कर नलगाउँदामात्र यस्तो सम्भव हुने निगमको भनाइ छ ।
निगमले अहिले दैनिक २० लाख लिटर पेट्रोल आयात गर्छ । इथानोल मिसाउने हो भने पेट्रोलका लागि बाहिरिने रकमबाट दैनिक १ करोड ८० लाख रूपैयाँ बच्ने निगमको भनाइ छ । इथानोल अन्न वा वनस्पतिबाट उत्पादन हुने एक प्रकारको रसायन हो । यो मदिरा, औषधि तथा स्वास्थ्य क्षेत्र, सौन्दर्य प्रशाधनलगायतमा प्रयोग गरिन्छ ।
२०६० सालमै सरकारले पेट्रोलमा इथानोल मिसाउन स्वीकृति दिएको थियो । कानुन निर्माण नगरी गरिएको यस्तो स्वीकृतिका कारण योजना २२ वर्ष अलपत्र पर्यो । अब इथानोल मिसाउनका लागि इथानोलको मूल्य र गुणस्तर सरकारले तोकेपछि बल्ल निगमले उद्योगहरुसँग इथानोल माग गर्नेछ । तर कानुनअनुसार यस्तो इथानोल भारतबाट भने ल्याउन मिल्दैन ।
नेपालका चिनी उद्योगीले दैनिक ५० हजार लिटरमात्रै इथानोल उत्पादन गर्न सक्ने निगमलाई जानकारी गराएका छन् । पर्याप्त इथानोल उत्पादनका लागि उद्योग नै पनि थपिनुपर्ने छ । ब्राजिल र अमेरिकाले अहिले पेट्रोलमा ८५ सम्म इथानोल मिसाइरहेको विज्ञ बताउँछन् ।
यसरी इथानोल मिसाउँदा वातावरण प्रदुषणमा समेत कमि आउँछ । सवारीको माइलेज केही कम हुने भए पनि इन्जिनका लागि राम्रो हुने विज्ञको भनाइ छ । यस्तो इथानोल स्वदेशमा उत्पादन गर्न कृषि उत्पादन पनि बढाउनुपर्ने हुन्छ । यसले कृषकलाई मात्रै हैन यसको उद्योगमा रोजगारीसमेत बढ्ने हुन्छ । तर, इथानोलको गुणस्तरमा भने ख्याल गर्न जरुरी छ ।