वित्तिय संस्था र कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्दा पनि नेप्से ओरालो बाटोमा

एक महिनामा ६६ अंकले बजार घट्दा एक खर्ब ११ अर्बले खुम्चियो सम्पत्ति
लगानीकर्तामा त्रास र अन्योल कायमै
पुस ८, २०८२ |सुदिल पोखरेल
वित्तिय संस्था र कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्दा पनि नेप्से ओरालो बाटोमा

काठमाडौं । एक महिनामा ५६ कम्पनीले लाभांस घोषणा गरेका छन् । 

राष्ट्र बैंक तथा सरकारले पनि नीतिगत रूपमा सहज बनाएकै छन् । तै पनि पछिल्लो एक महिनामा शेयर बजार लगातार ओरालो लागेको छ । यो अवधिमा सेयबजार परिसूचक नेप्से ६६ अंकले घटेको छ भने लगानीकर्ताको सम्पत्ति १ खर्ब ११ अर्बले घटेको छ ।

गत मंसिर ८ यता ५६ वटा कम्पनीले लगानीकर्ताका लागि लाभांस घोषणा गरे पनि शेयर बजार परिसूचक-नेप्से लगातार ओरालो लागिरहेको छ । गत मंसिर ८ गते २६ सय ५० अंकमा रहेको नेप्से घटेर मंगलबार २५ सय ८४ अकंमा कायम भएको छ । अर्थात् एक महिनामा नेप्से ६६ अंकले घटेको छ । 

पुस ३, ६ र ७ गते ४४ अंकले तल झरेको नेप्से मंगलबार तीन दशमलव दुई-सात अंकले मात्रै बढेको छ । धमाधम लाभांस घोषणा हुँदा पनि जेन-जी आन्दोलनपछि लगानीकर्तामा देखिएको त्रास अहिलेसम्म कायम रहेकाले त्यसको प्रभाव बजारमा परेको लगानीकर्ता बताउँछन् ।

यो एक महिना अवधिमा सबैभन्दा कममा साढे तीन प्रतिशतदेखि बढीमा २५ प्रतिशतसम्म लाभांस घोषणा भएको छ । सबैभन्दा बढी लाभांस घोषणा छिमेक लघुवित्त र सिद्धार्थ प्रिमियर इन्सुरेन्सले २५-२५ प्रतिशत गरेका छन् भने सबैभन्दा कम हाइड्रो इलेक्ट्रीसिटि कम्पनीले साढे ३ प्रतिशत लाभांस घोषणा गरेको छ । 

धेरैजसो कम्पनीले लाभांस घोषणा गरिसकेको तथा बजारमा राजनीतिक अन्योल रहेकाले पनि बजार घटेको बिश्लेषकको भनाइ छ । धमाधम यसरी लाभांस घोषणा भएकै समयमा लगानीकर्ताको सम्पत्ति भने १ खर्ब ११ अर्बले घटेको छ । गत मंसिर ८ गते ४४ खर्ब ५० अर्ब रहेको लगानीकर्ताहरुको सम्पत्ति सेयरबजार ओरालो लाग्दा मंगलबार ४३ खर्ब ३९ अर्बमा सीमित भएको छ । 

बैंक तथा वित्त संस्थामा अहिले पैसा थुप्रिरहेको छ भने बैंकहरूको ब्याज खर्च मात्रै हैन ऋणी कालोसूचीमा पर्दा बैंकहरूले रिजर्भमा राख्नुपर्ने पैसा समेत बढेको छ । अन्य कम्पनीले समेत व्यापार गर्न नसक्दा नाफा बढाउन सकेका छैनन् । घट्दो सेयरबजारले आगामी दिन चुनौतीपूर्ण रहेको संकेत गरेको लगानीकर्ताको तर्क छ।

राष्ट्र बैंक तथा सरकारले नीतिगत रूपमा सहज बनाउँदासमेत बजार बढ्न सकेेको छैन । यसले अब सेयरबजार तथा अर्थतन्त्रले नीतिगत सहजता मात्रै हैन सरकारले लगानीकर्ताको मनोबल नै उकास्नुपर्छ भन्ने देखाएको छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।