.png&w=1000&height=550)
बागलुङ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि बागलुङमा तयारी पूरा भएको छ ।
जिल्लाका कुल १०७ मतदानस्थलका २३० मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामाग्रीसहित कर्मचारी, सुरक्षाकर्मी खटिएका छन् । दुईवटा क्षेत्र रहेको बागलुङमा निर्वाचनका लागि आवश्यक पर्ने ४९ प्रकारका सामग्रीसहित मतपेटीका, मतपत्रसहित कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा खटिएका छन् ।
बागलुङमा दुई अस्थायी गरि एक सय नौ मतदानस्थलमा कुल दुई सय ३२ मतदान केन्द्रको निर्वाचनको लागि सबै तयारी भएको छ । निर्वाचनको लागि बागलुङमा सुरक्षाकर्मीबाहेक एक हजार तीन सय ८६ कर्मचारी र ६ सय ९४ जना स्वयंसेवक खटिएका छन् ।
जिल्ला कारागारका रहेका ५३ जना बन्दीसहित दुई हजार ३६८ जना सुरक्षाकर्मी र कर्मचारीका लागि दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको सुरक्षा संयन्त्रको दाबी छ ।
एक सय नौ मतदानस्थल मतदानस्थलहरुमध्ये २९ वटा अति-संवेदनशील, २५ संवेदनशील र ५३ सामान्यमा वर्गीकरण गरिएको छ । मतदान केन्द्रको भित्रि सुरक्षामा नेपाल प्रहरी, निर्वाचन प्रहरी प्रहरी खटिनेछन् भने बाहिरी सुरक्षा घेरामा सशस्त्र प्रहरी र नेपाली सेना रहने छ ।
जिल्लामा कुल एक लाख ९३ हजार ३८१ मतदाता छन् । प्रतिनिधि सभा सदस्यका दुई सिटका लागि बागलुङमा २१ जना उम्मेदवार चुनावी मैदानमा छन्।