
काठमाडौं । मोटरसाइकल संस्कृतिलाई कफी संस्कृतिसँग जोड्ने उद्देश्यसहित एसजे मोटो र हिमालयन जाभाले सहकार्यमा काठमाडौंमा आफ्नो दोस्रो आउटलेटलाई पुन: सञ्चालनमा ल्याएका छन्।
पोखरामा पहिलो सहकार्य आउटलेट सफलतापूर्वक सञ्चालन गरेपछि काठमाडौंमा सन् २०२१ मा स्थापना गरिएको उक्त शाखालाई पूर्ण रूपमा पुनः डिजाइन गरी नयाँ स्वरूपमा पुन: सञ्चालन गरिएको हो। नयाँ स्वरूपमा आकर्षक इन्टेरियर, फराकिलो सिटिङ व्यवस्था तथा आरामदायी वातावरण तयार गरिएको छ, जसले बाइक प्रेमी र कफी पारखीलाई एउटै छानामुनि जोड्ने लक्ष्य राखेको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
काठमाडौंस्थित यो आउटलेटले प्रिमियम कफीको स्वादसँगै सामाजिक भेटघाट र मोटरसाइकल संस्कृतिको उत्सव मनाउने विशेष स्थानका रूपमा आफूलाई स्थापित गर्ने अपेक्षा गरिएको छ। नयाँ वातावरणले आराम, सामुदायिक भावना र आपसी सम्बन्ध विस्तारलाई प्राथमिकता दिएको छ।
एसजे मोटोका संस्थापक सौरभ ज्योतिले पोखराको सफलतापछि काठमाडौंमा अझ फराकिलो र आकर्षक स्थान आवश्यक महसुस गरिएको बताउनुभयाे। “हामीले पोखरामा सहकार्य आउटलेट सुरू गरेदेखि नै बाइकर्स र कफी पारखीहरूको समुदाय विस्तार भइरहेको देख्यौं। काठमाडौंमा पुनः डिजाइन गरिएको यो स्थानले दुवै रूचिलाई अझ व्यापक रूपमा जोड्ने विश्वास गरेका छौं,” उहाँले भन्नुभयाे।
सवारीअघि ऊर्जा भर्न, सहयात्रीसँग भेटघाट गर्न वा जीवन्त वातावरणमा उत्कृष्ट कफीको आनन्द लिन चाहनेहरूका लागि यो नयाँ आउटलेट विशेष गन्तव्य बन्ने कम्पनीको दाबी छ। पुनः स्तरोन्नति गरिएको एसजे मोटो र हिमालयन जाभा काठमाडौं आउटलेट सर्वसाधारणका लागि समेत खुला गरिएको छ।