काठमाडौं । समस्याग्रस्त १९ वटा सहकारीमा रकम फसेको ५६ हजार बचतकर्ताको रकम फिर्ता गर्न बाँकी छ ।
तर, यही बेला सहकारीबाट रकम फिर्ता गर्न गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी कार्यालय आउनै छाडेका छन् । जसका कारण समितिले मंसिर ५ गतेयता कुनै पनि काम अघि नबढाएपछि ऋणीबाट रकम उठाएर बचत फिर्ता गर्ने काम रोकिएको छ ।
नागरिक बचत तथा ऋण सहकारीमा २०६५ देखि निरन्तर रकम जम्मा गर्दे आउनुएका बिजय सुकुभाट्टु बचत फिर्ताको आशा लिएर गत साता समस्याग्रस्त सहकारीको व्यवस्थापन समितिको कार्यालय पुग्नुभएको थियो । म:म पसलको व्यवसायबाट आफैँले कमाएर सहकारीमा राखेको रकम फिर्ताका लागि अहिले उहाँले दैनिक सास्ती खेप्नुपरेको छ । तर रकम कहिले आउँछ, पत्तो छैन ।
समितिको कार्यालयदेखि अन्य सरकारी निकायमा उहाँले बचत फिर्ताका लागि धाएको तीन वर्ष बित्यो । दु:खले जम्मा गरेको बचत गुमेपछि अहिले सुकुभाट्टुसँग आक्रोश र मनमा तनावमात्रै छ ।
सुकुभाट्टुजस्तै ५६ हजार बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने काठमाडौंको बुद्धनगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा मंसिर ५ यता पदाधिकारी आउनै छाडेका छन् । उक्त दिन बचतफिर्ताको काम गर्न नसकेको भन्दै आन्दोलनकारीले कार्यालय घेरेपछि पदाधिकारी कार्यालय आउन छाडेका थिए ।
पदाधिकारीले काम नगरेको गुनासो प्रधानमन्त्री कार्यालयमा पुगेपछि सरकारले मंसिर १० गते समितिका अध्यक्षसहित पाँच जनालाई स्पष्टीकरण सोधेको थियो । त्यसयता त झनै कार्यालयमा कुनै काम हुन सकेको छैन ।समितिका पदाधिकारी नआएपछि कर्मचारी कामबिहीन छन् । न त ऋण उठाउने काम अघि बढाउन सकेका छन्, न बचतफिर्ताका लागि पहल नै गर्न सकेका छन् ।
काम चित्तबुझ्दो नभएको भन्दै भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको स्पष्टीकरणपछि अहिले चार जना पदाधिकारीले मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् । तर कुनै सुनुवाइ भएको छैन । बचतकर्ताहरूले भने व्यवस्थापन समितिमा नयाँ पदाधिकारी नियुक्त गर्नुपर्ने र आफ्नोसमेत प्रतिनिधित्व हुनुपर्ने माग गर्दै आएका छन् ।