रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि जुम्लामा पहिलोपटक खाद्य परिकार प्रदर्शनी मेला

मंसिर २८, २०८२ |डीबी बुढा
रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि जुम्लामा पहिलोपटक खाद्य परिकार प्रदर्शनी मेला

जुम्ला । जुम्लामा उत्पादन हुने अर्गानिक रैथानेबालीबाट बन्ने परिकार र यसको महत्वका विषयमा उजागार गर्न कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला आयोजना गरिएको छ । 

मेलामा औषधिय गुण भएका जडिबुटीदेखि रैथानेबालीबाट बनेका विभिन्न परिकारको प्रदर्शन गरिएको छ । यहाँ उत्पादन हुने पोषिला रैथाने अर्गानिक वस्तुहरूको उत्पादन, संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि गरिएको यो एक प्रयास हो । 

प्रदर्शनीमा कहिले सडक नाटकका माध्यमबाट रैथानेबालीको महत्वका बारेमा दर्शाइन्छ । कहिले देउडा खेलेर रैथानेबालीको महत्व, पोषणअस्थाका बारेमा सन्देश छरिरहेको भए पनि मेला प्रदर्शनीको आयोजना गरेर स्वाद नै चख्याउने कार्य भने यो पहिलो हो । 

यो पटक चन्दननाथ नगरपालिकाले कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला आयोजना गरेर किसानलाई हौसला दिने कार्य गरिरहेको छ । किसानले पनि आफ्नो उत्पादनबाट बनेका थरीथरिका परिकारहरु राखेका छन् ।

प्रदर्शनी मेलामा १२ वटा स्टल राखिएको छ । स्टलहरुमा स्थानीयबालीका बिउहरुदेखि स्थानीयबालीबाट बनेका परिकारहरु राखिएका छन् । फापरको रोटी, फापरको सेल, केक, कोदोको रोटी, कागुनोको खीर पनि राखिएको छ । 

पछिल्लो समयमा लोप भइरहका बालीहरुको बिउ समेत प्रदर्शनीमा राखिएको छ । यो मेलाले किसान, उपभोक्ता र सरोकारवाला बिचको समन्वयलाई अझै बलियो बनाउने विश्वास गरिएको छ । सबैभन्दा महंगो र अधिक माग भएको मार्सीचामलदेखि सिमी र जिल्लाभर उत्पादन भइरहेका बालीहरुका बनेका परिकार आकर्षणको केन्द्र बने ।

जुम्ला नेपालको पहिलो अर्गानिक जिल्ला हो । रैथाने खाद्य परिकार बजारमा पुर्‍याउन गुणस्तरीय उत्पादन, प्याकेजिङ र ब्रान्डिङ गर्न आवश्यक छ । अहिले निर्यात त भइरहेको छ तर गुणस्तरको मापन छैन । आफ्नो उत्पादनलाई हेला गर्ने र बाहिरको उत्पादनलाई बढावा दिने काम भइरहेको छ । यसलाई निरुत्साहित गर्न पनि यो मेला कोसेढुंगा सावित हुने आशा गरिएको छ ।

सुरक्षित,पोषणयुक्त र स्थानीय उत्पादनको प्रयोगले सामुदायिक स्वास्थ्यमा सकरात्मक प्रभाव पारिरहेको छ । कृषिका संभावना,परम्परागत प्रजातिको संरक्षण तथा जैविक कृषि प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने काम यो प्रदर्शनीले गरेको छ । किसानका नविन उत्पादन,मौलिक बिउ विजन तथा स्थानीय खाद्यको परिकार एकै स्थानमा प्रदर्शनी गरिएको छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।