
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले कालोसूचीका प्रावधान पुनरावलोकन गर्न अध्ययन थालेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूचीसमेत भएकाले यसमा पुनरावलोकन गर्ने गरी प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । तरलता घटाउन राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो बनाएको र आगामी दिनमा लगानी बढ्दै जाने पनि उहाँले बताउनु भयो ।
गभर्नर पौडेलले निर्माण क्षेत्रमा सामूहिक रूपमा गरिएको लगानीमा एक जनाले नराम्रो गरे सबै कालोसूचीमा पर्ने समस्यालाई समेत हटाइने बताउनु भयो । उहाँले बैंकहरूको नाफा बढोस् भन्ने उद्देश्यले महानगरभित्रका शाखाहरू समायोजन गर्नसक्ने वातावरण मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरिएको बताउनु भयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत-सीईओ सुशील राजनीतिक वातावरणमा फेरबदल आउने बित्तिकै आयोजनाहरूको मोडालिटीमा समेत धारणा बदल्ने परिपाटी देखिएको भन्दै मुलुकमा स्थायित्व नभएसम्म लगानीको वातावरण बन्न नसक्ने बताउनुभयो ।
स्थायित्वका लागि लगानी बोर्डमा प्रधानमन्त्रीको अध्यक्षतामा विपक्षी दलको नेतासहित संसद्मा प्रतिनिधित्व गर्ने दलहरू, निजी क्षेत्रका प्रतिनिधि, विज्ञसमेत सम्मिलित एउटा संयन्त्र बनाउने तयारी भइरहेको उहाँले बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने उल्लेख गर्दै निजी क्षेत्रलाई भरसक कुनै पनि नीति निर्माणमा सहभागी नगराउने प्रचलन अन्त्य गर्नुपर्ने बताउनु भयो ।