चुनौतीलाई अवसरमा बदल्दै दाङका शारीरिक अपाङ्गता भएका व्यक्ति

मिहिनेत र आत्मविश्वासले बने सफल उद्यमी
मंसिर १७, २०८२ |अमर क्षितिज भण्डारी
चुनौतीलाई अवसरमा बदल्दै दाङका शारीरिक अपाङ्गता भएका व्यक्ति

दाङ । अपाङ्गता हुनु व्यक्तिको दोष होइन । विभिन्न कारणले मानिसमा अपागंता हुने गर्दछ । धेरैले अपागंतालाई बोझका रुपमा लिएर निराशामा बाँचिरहेका हुन्छन् । 

तर दाङमा अपाङ्गता भएका केही यस्ता व्यक्ति पनि छन् जसले दृढ इच्छाशक्ति र निरन्तरको मिहिनेतले आफूमात्रै स्वरोजगार बनेका छैनन् अरूलाई पनि रोजगारी दिन सफल भएका छन् । घोराही १५ की ३५ वर्षकी हिरा थापा पाँच वर्षको उमेरमा भिरबाट लडेर अपाङ् हुनु भयो । 

१८ वर्षको उमेरमा आफूजस्तै अपाङ्गता भएका देउखुरीका रामशङ्कर यादवसँग प्रेम विवाह भयो । घरपविारले विवाह स्वीकार गरेन । हिरा र रामशंकरलाई अब के गरी खाने भन्ने आपत आइलाग्यो । केही न केही गर्ने पर्छ भन्ने सोच मनमा आयो र घोराहीको भिङ्ग्रेली चौकमा २०६४ सालमा ३ हजारबाट सानो तरकारी पसल सुरू भयो । दैनिक २ देखि ३ सय रूपैयाँको बिक्रि हुन्थ्यो । 

दुवैको साथले पसल बढ्दै गयो त्यसकै कमाइले अहिले घोराही रझेनामा दुई तले १० कोठाको पक्की घर बन्यो श्रीमान गैरसरकारी सस्थामा काम गर्नु हुन्छ भने ११ कक्षा पढ्दै गरेको छोराले हिरालाई पसलमा पनि सघाउँछन् । घोराहीकै ४० वर्षका वीरबहादुर रेउलेलाई २० वर्षको समयमा ढाडको समस्या आयो ह्वीलचियर साहारा बन्यो । 

अपाङ्ग जिवनलाई बोझका रूपमा नभएर अवसरका रूपमा लिनुपर्छ भन्ने सोचले वीरबहादुरले कटाइ सिलाइको तीन महिने तालिम लिनुभयो । सीप सिकेर अरूकै पसलमा सुरूवाती दिनमा दैनिक एक सय रूपैयाँ कमाउन थाल्नु भएका वीरबहादुरले १० वर्ष अघिदेखी घोराहीमा ग्रामेन्ट पसल सञ्चालनमा ल्याउनु भएको छ भने ४ जनालाई रोजगारी पनि दिनु भएको छ ।

पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाका गणेश बुढामगर २७ वर्षका हुनु भयो । ३४ इन्ची उचाइ र २२ किलो तौल भएका गणेशले तुलसीपुरस्थित राप्ती बबइ क्याम्पसमा शिक्षा संकायबाट स्थानाकोत्तर चौथो सेमेस्टरको अध्ययन गरिरहनु भएको छ । गाउँकै विद्यालयमा पाँच वर्ष निम्नमाध्यामिक तहको अध्यापन गराउनु भएका गणेशले हालै माध्यामिक तहको शिक्षक अनुमती प्रत्र प्राप्त गर्नु भएको छ भने शिक्षा सेवा आयोगको तयारीमा हुनु हुन्छ ।

हिरा, वीरबहादुर र गणेश जस्तै दाङ जिल्लामा मात्रै विभिन्न प्रकारका १२ हजार ८ सय ५६ अपाङ्गता भएका व्यक्तीहरू छन् । २०३९ सालदेखि अपाङ्ग संरक्षण कल्याण ऐन ल्याएर राज्य स्तरबाट केही काम अघि बढाएको देखिन्छ भने नेपालको संविधान २०७२ मा अपाङ्गताको अधिकार सुनिश्चित गर्दै २०७४ मा अपाङ्गहरूका लागि भनेर ऐन नै जारी गरेको छ । 

१० प्रकारका अपाङ्गको बर्गिकरण गरी गम्भिरताका आधारमा ४ प्रकारमा विभाजन गरेर सरकारले परिचय पत्र तथा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै पनि आएको छ । अपाङ्गता भएकाहरू केही गर्न सक्दैनन् भन्नु भन्दा पनि उनीहरूले अवसर र क्षमता अनुसारको काम पाएका खण्डमा सपाङ्ग सरह काम गर्न सक्दछन् । 

त्यसैले अपाङ्गता भएका हरूकालागि अपाङ्ग मैत्री संरचनाको निमार्ण र क्षमताको परिचान गरेर त्यस अनुसारको सीप र आयआर्जनको व्यवस्था गर्नु पर्ने देखिन्छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।