
काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरे पनि त्यसको नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिमा तत्काल प्रभाव नपर्ने भएको छ ।
आयल निगमका अनुसार कम्तिमा पनि १३ दिनका लागि पेट्रोलियम पदार्थको भाउ र त्यसको आपूर्तिमा कुनै प्रभाव पर्ने छैन । निगमले दुई दिनअघि मात्रै भारतमा १५ दिनका लागि नयाँ भाउ पठाइसकेको छ । जसअनुसाार भाउ तय हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि त्यसको असर नहुने निगम बताउँछ ।
विश्व बजारमा इरानको तेल हिस्सा तीन दशमलव पाँच प्रतिशत मात्रै हो । त्यसमा पनि भारतले इरानको थोरै मात्रै तेल ल्याउने हुँदा आपूर्ति प्रभावित नहुने निगमको दाबी छ । चुनावलक्षित गरेर सबै डिपोमा तेल भण्डार गरिएको पनि निगमले जनाएको छ । चुनावका बेलामा आपूर्ति प्रभावित नहोस् भनेर त्यसको व्यवस्थापन गरिसकेको निगमका प्रबन्ध निर्देशक भट्टले जानकारी दिनुभयो ।
तत्कालका लागि मूल्य तथा आपूर्तिमा प्रभाव नपर्ने भएकाले अनावश्यक भण्डारण गर्न नहुनेसमेत निगमले जनाएको छ ।