
दोलखा । संरक्षण क्षेत्रको जग्गा भोग अधिकारको सम्झौता प्रक्रियामा ढिलाइ हुँदा स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन दुईवटा जलविद्युत् आयोजना निर्माणको काम सरकारकै कारण पाँच महिनादेखि बन्द भएको छ ।
मन्त्रिपरिषद्ले भोग अधिकारको विषयमा स्वीकृति दिने निर्णय पारित गरेर पठाए पनि वन मन्त्रालयबाट ढिलाइ हुँदा जनताको जलविद्युत् कार्यक्रम अनुसार निर्माणाधीन तामाकोसी पाँचौं आयोजनाको पाँच महिनादेखि बन्द छ । निकुञ्ज, संरक्षण क्षेत्रमा पुर्वाधार तथा विकासका संरचना बनाउन भएको कानुन संसोधन सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।
जसका कारण निकुञ्ज र संरक्षण क्षेत्रमा निर्माणाधीन आयोजनाको काम रोकिएको हो । उक्त फैसला विरूद्धको रिटमा वन मन्त्रालयलाई कानुन बनाएर आयोजनाको कामअघि बढाउन भने पनि पूर्ण पाठ नआएको भन्दै असार २० गतेबाट ९९ दशमलब ८ मेघावटको तामाकोसी पाँचौं र माथिल्लो तामाकोसी आयोजनाको २० मेगावाटको रोल्वालिङ काम गौरीशंकर संरक्षण क्षेत्रले बन्द गराएको थियो ।
तामाकोसी पाँचौं आयोजनाको अडिट १ र विद्युत गृहको काम भैरहे पनि मुख्य २,३ र ४ नं अडिट टनेलको काम पूर्णरूपमा बन्द छ । जसका कारण लामो समयदेखि काम बन्द भएपछि निर्माण कम्पनि सिनो हाईड्रोले त्यस अवधिको क्षतिपूर्ति दाबी गर्ने आयोजनाका एक अधिकारीले बताए ।
निर्माण अवरोध भएको उर्जा मन्त्रालयलाई जानकारी पटक-पटक गराइसकेको र मन्त्रिपरिषद्बाट पनि स्वीकृति भैसकेको तामाकोसी पाँचौंका कार्यकारी प्रमुख विनोद भण्डारीले बताउनुभयो । वन मन्त्रालयले ढिलाइ गर्दा आयोजनाको काममा अवरोध भैरहेको उहाँको भनाइ छ । २१ अर्ब लाग्ने अनुमान गरिएको आयोजनाको लागत बढ्ने देखिएको छ ।