चुरे संरक्षणमा सामुदायिक वन सक्रिय : जलाधार जोगाउँदै मधेशमा समृद्धिको आधार

चैत्र ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
चुरे संरक्षणमा सामुदायिक वन सक्रिय : जलाधार जोगाउँदै मधेशमा समृद्धिको आधार

काठमाडौं । पानीका स्राेत संरक्षण र वन व्यवस्थापनमार्फत सम्वृद्धिका लागि सामुदायिक वनहरूले तराई मधेशमा जलाधार क्षेत्र तथा जैविक विवधता संरक्षणलाई अभियानकै रूपमा अघि बढाएका छन् । 

चुरे क्षेत्रमा वनलाई हराभरा बनाउने र पानीका स्राेत वृद्धि गरी उपभोक्ताको आयआर्जनमा सहयोग पुर्याँउँदै मधेश प्रदेशको दक्षिणी भूभागमा जलसतह सुक्न नदिन सामुदायिक वनहरूले अग्रसरता देखाएका हुन् । जलाधार तथा जैविक विविधता संरक्षण गरी पानीको श्रोत बढाउँदै स्थानीय उपभोक्तालाई कृषि उत्पादनमा सघाउने उद्देश्यले सिरहा र सप्तरीसहितका जिल्लामा सामुदायिक वन उपभोक्ता महासंघले अभियान अघि बढाएको हो। 

सिरहाका एक सय १४ मध्ये चुरेमा जोडिएका ९ वटा सामुदायिक वनमा समुदायसँग सहकार्य र दातृ निकायसँगको सहयोगमा जलाधार व्यवस्थापन, वृक्षरोपण तथा जैविक विविधता संरक्षण परियोजना अघि बढाइएको छ । सामुदायिक वनले किसानलाई जिविकोपार्जनमा सघाउने उद्देश्यसहित ३२ वटा कृषक समूह बनाएर काम गरिरहेको छ । 

जसमा चुरेमा वन हराभरा बनाउनेदेखि ताल तथा पोखरीमा माछा पालन, कृषि वनमा आधारित रहेर आँप, लिची, कटहर तथा कागतीलगायतका फलफूल र बेमैसमी तरकारी खेती सुरू गरिएको छ । जलाधार क्षेत्र संरक्षण र सामुदायिक वन व्यवस्थापनका कामले मधेशको दक्षिण क्षेत्रमा पानीको श्रोत बढाउने र वन्यजन्तुलाई पानीको अभाव हुन नदिने दीर्घकालीन लक्ष्य राखेको छ । 

जलाधार संरक्षणको यो अभियान समग्र तराई मधेशकै लागि सिकाइ हुने देखिएको छ। चुरे क्षेत्रको दीगो संरक्षण र सामुदायिक वन व्यवस्थापन मार्फत उपभोक्ता र समुदायको जीविकोपार्जन सुधार गर्दै मुलुकको आर्थिक सम्वृद्धिमा टेवा पुर्याउन सकिने दाबी फेकोफनको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.