युएफा च्याम्पियन्स लिगमा आज बार्सीलोना र न्युक्सालबीच प्रतिस्पर्धा

टटेनहमले एट्लेटिको मड्रिडसँग खेल्दा लिभरपुलले गालातासाराय र बायर्न म्युनिख, एटालान्टासँग भिड्ने
चैत्र ४, २०८२ |खेल ब्युरो
युएफा च्याम्पियन्स लिगमा आज बार्सीलोना र न्युक्सालबीच प्रतिस्पर्धा

काठमाडौं । युएफा च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा बुधबार बार्सीलोनाले न्युक्सालसँग प्रतिस्पर्धा गर्दैछ ।

क्याम्प नोउमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ९ बजे सुरू हुनेछ । सेन्ट जेम्स पार्कमा भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । ८६औं मिनेटमा हावी बान्सले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा लमिन यामलले पेनाल्टीमा गोल गर्दै बार्सीलोनालाई नाटकिय रूपमा खेलमा फर्काएका थिए । 

बार्सीलोनाका मुख्य प्रशिक्षक हान्जी फ्लिकले अन्तिम समयमा हारबाट जोगिए पनि पहिलो लेगमा आफ्नो टीमले राम्रो नखेलेको बताए । यदि लगातार तेस्रो सिजन क्वार्टरफाइनल पुग्ने हो भने बुधबार उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ । पाँच पटकको विजेता बार्सीलोनाले युएफाको दुई लेगमा भएको खेल पहिलोमा बराबरी भएको २९ मध्ये २३ मा जीत हात पारेको छ । 

जसमा १४ मध्ये ११ खेलको पहिलो लेग १-१को बराबरी भएको थियो । इङलिस क्लबविरुद्ध पनि बार्सीलोनाको रेकर्ड राम्रो छ । सन २००६-७ मा अन्तिम १६ पहिलो लेगमा लिभरपुलसँग पराजित भएयता स्पेनिस जाइन्ट १४ खेल यता अपराजित छ । यता न्युक्यासलले , प्रिमियर लिगमा चेल्सिलाई १-० गोलले हराउँदै आफ्नो मनोबल उच्च बनाएको छ । 

जुन सबै प्रतिस्पर्धामा गरी न्युक्यासलको यो लगातार पाँचौं अवे जित हो । यस्तै बुधबार राति एघार बजे टटेनहम र एट्लेटिको मड्रिडबीच पनि खेल हुनेछ । स्पेनिस क्लब क्वार्टरफाइनल नजिक छ । पहिलो लेगमा उसले टटेनहममाथि ५-२ गोलको जित हात पारेको थियो । 

लिभरपुलले एनफिल्डमा गालातासाराय सँग खेल्नेछ । १-० गोलले पछि परेको लिभरपुल पुनरागमनको प्रयासमा हुनेछ । बायर्न म्युनिखले एटालान्टासँग खेल्नेछ । पहिलो लेगमा बायर्न ६-१ गोलको फराकिलो अन्तरले विजयी भएको थियो । बायर्नले बुधबार १६ वर्षीय गोलकिपर लियोनार्ड प्रेसकर्टलाई सिनियर टिममा डेब्यु दिने सम्भावना रहेको छ ।