
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मुलुकमा लगानीमैत्री नीतिको अभाव रहेको बताउनुभएको छ ।
सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उहाँले लगानीमैत्री नीतिको अभावमा मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसकेको बताउनुभएको हो । उहाँकाअनुसार आर्थिक नीति लगानीमैत्री हुन नसक्दा देशभित्रै रोजगारीको अवसर सिर्जना गराउन अप्ठ्यारो परेको बताउनु भयो । उहाँले प्रतिदिन २५ सय युवाहरू स्वदेशमै रोजगारी नहुँदा विदेशिनु परेकाे बताउँदै सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर देशभित्रै रोजगारीको सिर्जना गराउन ध्यान दिनुपर्ने बताउनु भयो ।
अध्यक्ष अग्रवालले भन्नुभयो–‘अपार प्राकृतिक स्रोतहरूले भरिपूर्ण हाम्रो देशमा लगानीमैत्री आर्थिक नीतिको अभावले देशले आर्थिक समृद्धि हासिल गर्नु त परै जाओस् आफ्ना युवा जनशक्तिका लागि रोजगारी सिर्जनासम्म गर्न सकेको छैन् । प्रतिदिन २५ सय युवाहरू स्वेदशमा रोजगारी नपाएर विदेशिनुपरेको छ । यही नै युवाहरूमा देखिएको असन्तुष्टिको कारण हो । सुशासन, भ्रष्टचार निवारण र रोजगारी सिर्जनामा जेन-जी पुस्ताले अघि सारेका मागहरू आर्थिक समृद्धिको दिशामा पहिलो खुड्किलो हुन् ।’
लगानीमैत्री वातावरणको लागि पहिलो आवश्यकता सुरक्षा नै रहेको उहाँले बताउनु भयो । अग्रवालकाअनुसार लगानीकर्ताको मनोबल उकास्न सरकारले लगानी सुरक्षण सम्बन्धी नीति सरकारले ल्याउनुपर्छ ।