
प्यूठान । बेमौसममा पर्ने पानीले भित्र्याउने बेलाको बालीनालीमा बारम्बार ठूलो क्षति पुर्याउँछ ।
मौसमी गतिविधिबारे राम्रो जानकारी नराखी बालीनाली भित्र्याउने तथा अरू कृषि कर्म गर्ने किसान यसको मारमा पर्दै आएका छन् । तर थोरै सूचनाले पनि बालीनालीमा नोक्सानी हुनबाट धेरै मद्दत गर्छ भन्ने उदाहरण प्यूठानको सरूमारानी गाउँपालिकाको गनाहा-खोलाका किसानबाट सिक्न सकिन्छ ।
सरूमारानी गाउँपालिकाको गनाहाखोला क्षेत्रमा नै भनौं ठूलो आवाजमा माइकिङ भयो । गाउँका सबैलाई सतर्क रहन आग्रह गर्दै सुरक्षित स्थानमा गएर बस्न भनियो । गनाहाखोला थुनिएकाले खोलामा बाढी आउनसक्ने सूचनाले स्थानीय हतपत सुरक्षित स्थानतर्फ लागे ।
टन्टलापुर घाम लागिरहेको हिउँदको समयमा पनि कसरी खोलामा बाढी आउँछ होला भनेर केही आश्चर्यमा पनि परे ? तर पछिमात्रै थाहा भयो । गाउँमा विपद् पूर्वतयारी नमुना अभ्यास भैरहेको रहेछ । बेमौसमी वर्षा, बाढी र त्यसले पुर्याउने क्षतिलाई ध्यानमा राख्दै सरूमारानी गाउँपालिकाको गनाहामा विपद पूर्वतयारी अभ्यास गरिएको थियो ।
गनाहाखोलामा आउने बाढीले त्यस क्षेत्रका ठूलो क्षति पुर्याउँदै आएको छ । गनाहा क्षेत्रको जंगलमा लाग्ने डढेलोको समेत जोखिम छ । तर विपद पूर्वतयारीबारे जानकारी लिएसँगै स्थानीयमा पूर्वतयारी भयो भने आफैले विपद्सँग जुध्न सकिने रहेछ भन्नेमा आस्वस्त भएका छन् ।
खेतीपाती गर्दा मौसमबारे जानकारी लिने, यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्ने, २४ घन्टे, तीन दिने तथा साताभरीको मौसमको जानकारी लिएर मात्रै खेतीपाती गर्नेलगायतका काम गनाहाबासीले गर्न थालेका छन् । स्थानीयस्तरसम्म विपद् पूर्वतयारीबारे सचेतना जगाउन सके स्थानीय आफै विपद्बाट जोगिन सक्छन् ।
सामान्य ज्ञानले पनि विपद्मा ठूलो महत्व राख्ने भएकाले ठाउँ-ठाउँमा नमुना अभ्यास आवश्यक छ । विपद् बाजा बजाएर आउँदैन भन्ने कथन छ । जसले गर्दा विपद्का समयमा पूर्वजानकारी नराख्दा ठूलो क्षति भइरहेको छ । त्यसैले पूर्वतयारीको ज्ञान समुदायस्तरसम्मै पुर्याउन सके यसले ठूलो महत्व राख्नसक्छ ।
विपत्तीलाई रोक्न सकिदैन । तर पुर्वतयारी भयो भने त्यसले पुर्याउने क्षति भने कम गर्न सकिन्छ । जसका लागि समुदाय र बस्तीस्तरसम्मै यस्ताखालका नमुना अभ्यास र पूर्वतयारीका काम गर्न आवश्यक छ ।