बुटवल । पश्चिम क्षेत्रको आर्थिक तथा व्यापारिक केन्द्र हो बुटवल ।
यही बुटवल सहरमा वर्षैभरी मेला महोत्सव गर्न भन्दै करिब एक अर्ब बढी लगानीमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण थालिएको छ । तर, कहिले के त कहिले के बहानामा निर्माण अवधि लम्बिँदा बुटवलका उद्योगी व्यवसायी निराश छन् । बुटवलको बुटवल मण्डपमा यो अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण थालेको ६ वर्ष भयो ।
पश्चिम क्षेत्रको प्रमुख सहर बुटवलमा नियमित व्यापारिक मेला र प्रद्धशनी गरी आर्थिक गतिविधि बढाउन भन्दै प्रदर्शनी केन्द्र निर्माण थालिएको हो । संघीय शहरी विकास मन्त्रालयले २०७६ सालदेखि देशकै ठूलो र नवीन प्रविधिको प्रदर्शनी केन्द्र निर्माण थालेको थियो ।
एक अर्ब ७ करोड रूपैयाँ लगानीको प्रदर्शनी केन्द्र लम्बिँदै जाँदा पछिल्लो पटक म्याद थपेर मंसिर ८ सम्म समय सिमा दिइएको छ । तर, अहिलेसम्म करिब ९० प्रतिशत निर्माण भएको प्रदर्शनी केन्द्रको १० प्रतिशत काम कहिले कसरी सकिने हो निश्चित छैन ।
बुटवल मण्डपको ६ दशमलव ४ बिघा क्षेत्रफलमा फैलिएको प्रदर्शनी केन्द्र देशकै ठूलो र नविन प्रविधिमा निर्माण हुँदैछ । बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा आवश्यकता अनुसार अलग/अलग गर्न मिल्ने गरी तयार गरिएको छ ।
प्रदर्शनीका बाहिरी संरचना सकिए पनि भित्री संरचना र फिनिसिडका काम बाँकी छन् । निर्माण लम्बिनी प्रदर्शनी केन्द्रको निर्माणले उत्साहित बुटवलका व्यवसायीहरू अहिले निराश छन् । प्रदर्शनी केन्द्रको सबै निर्माण सकिँदा झन्डै साढे ८ सय स्टल सहभागी हुन सक्ने छन् । जहाँ एकैपटक १० हजार जनाले अवलोकन गर्न सक्ने छन् ।
१२ हजार स्क्वायर मिटरमा निर्माण भएको ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तीन सय स्टल सहभागी हुन सक्ने छन्। प्रदशनी केन्द्रमा एउटा साढे तीन सय स्क्वायर मिटर र अर्को साढे दुई सय मिटर स्क्वायर मिटरका बैठक हल छन् । स्थायी प्रदर्शनी केन्द्र निर्माणले बर्षेनि अस्थायी केन्द्र निर्माणमा हुने खर्च घट्ने छ । तर, सकिने कहिले व्यवसायीको प्रश्न छ ?
बुटवलमा अत्याधुनिक स्थायी प्रदर्शनी केन्द्र निर्माणले उद्योगी व्यवसायीहरूलाई वर्षभरी व्यापारिक मेला तथा प्रदर्शनी लगायतका आर्थिक गतिविधि गर्न सहज हुने छ । यसले बुटवललाई थप चलायमान बनाउन सकिनेछ । तर, संघीय सरकारले निर्माण थालेको प्रदर्शनी केन्द्र निर्माण कहिले सकिने हो ? बुटवलवासीको प्रश्न छ ।