
काठमाडौं । पश्चिम एसियामा जारी तनावले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ ।
जसका कारण नेपालमा होटल बुकिङ तथा ट्रेकिङ रद्द हुन थालेका छन् । यता व्यवसायीहरूले नेपाल शान्त रहेको सन्देश दिन विदेशस्थित नेपाली नियोगहरूलाई आग्रह गरेका छन् । गत मंगलबारदेखि सुरू भएको इरान, अमेरिका र इजरायलबीचको द्वन्द्व चलिरहँदा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरूले पश्चिम एसिया हुँदै हुने उडान अझै नियमित गर्न सकेका छैनन् । गत फेब्रुअरीसम्म अघिल्ला वर्षको तुलनामा ८ प्रतिशतले पर्यटक आवागमन बढिरहेको थियो ।
गत महिना मात्र १ लाख ५४ हजार पर्यटक नेपाल आएका थिए । तर, मार्चमा विकसिकत तनावले गर्दा भएका बुकिङ धमाधम रद्द भएका छन् । जसको सबैभन्दा ठूलो असर पर्यटन उद्योगमा देखिन थालिसकेको छ । होटल उद्योगमा जस्तै ट्रेकिङ उद्योग पनि नराम्ररी प्रभावित भएको छ ।
अन्तर्राष्ट्रिय पर्यटक बोलेभिया तथा पेरू जस्ता देशमा डाइभर्ट भएका छन् । कुल गार्हस्थ्य उत्पादनमा ६ देखि ८ प्रतिशतसम्म योगदान रहेको क्षेत्र संकुचित हुने हो की भन्ने चिन्ता व्यवसायीमा रहेको छ । यता, काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले ३० प्रतिशतले हवाई उडान तथा ४० प्रतिशतले यात्रुको आवागमन रोकिएको बताएको छ ।
नेपाल एयरलाइन्ससहित ३० वटा वायुसेवा प्रदायक कम्पनीले दैनिक एक सय उडान अवतरण गरिरहेकोमा अहिले पश्चिम एसियाका कतार, यूएई, ओमान जस्ता देशमा उडान रोकिएका छन् । ८ दिनदेखि काठमाडौंमा रोकिएका कतार एयरलाइन्सका दुईमध्ये एउटा जहाज सोमबार उडान भर्दै छ । केही वायुसेवा प्रदायकले पश्चिम एसियाको आकाश छलेर उडान भरेका छन् ।
पश्चिम एसियाको बाटो छलेर उडान भर्दा टिकटको मूल्य बढिरहेको छ । त्यसमाथि सरकारले एक पटक श्रम स्वीकृति लिएर विदामा आएका श्रमिकलाई मात्र पुनः वैदेशिक रोजगारीमा जान अनुमति दिएको छ । जसका कारण अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटेको छ ।