
काठमाडौं । सरकारले जेन-जी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आगजनी र तोडफोडको क्षतिवापतको बिमा दाबी रकम छिटो भुक्तानी गर्न निर्देशन दिए पनि डेढ महिनामा जम्मा ३ अर्ब ६८ करोड ४१ लाखमात्रै अग्रीम भुक्तानी भएको छ ।
यो भुक्तानी कुल दाबी रकमको जम्मा १५ प्रतिशत हो । गत असोजमा सरकारले बिमा कम्पनीहरूलाई बिमा दाबीको ५० प्रतिशत रकम यथाशिघ्र भुक्तान गर्न निर्देशन दिएको थियो । आगजनी तथा तोडफोडको क्षतिवापत बिमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड ९१ लाख रूपैयाँको दाबी परेको छ ।
जसमध्ये ३ अर्ब ६८ करोडमात्रै भुक्तान भएको हो । सम्पत्ति बीमातर्फ २ अर्ब ९२ करोड ८६ लाख, मोटर बीमातर्फ ६८ करोड ६१ लाख र इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ ६ करोड २३ लाख भुक्तानी भएको छ । यस्तै परिवहन बीमातर्फ ४७ लाख र अन्य बीमातर्फ २३ लाख अग्रिम भुक्तानी भएको छ ।
बिमा कम्पनीको भुक्तानी ढिलाइमा निजी क्षेत्र असन्तुष्ट देखिन्छ । बीमा प्राधिकरण भने नेपालजस्तै अर्थतन्त्र भएका अन्य मुलुकमा पनि यस खालको दाबीमा कम भुक्तानी भएको तर्क गर्दै सन्तोषजनक रहेको दाबी गर्छ । पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरुलाई अहिलेसम्म २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी अर्थात पेश्की उपलब्ध गराएको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा बीमा कम्पनीहरूले २ हजार ८ सय ५७ वटा पुनर्बीमावापत् १५ अर्ब ८२ करोड ७० लाख दाबी गरेका छन् ।