
काठमाडौं । विगतका वर्षहरुमा दशैं-तिहारपछि सेयरबजार केही बढ्ने गरेको भए पनि यसपटक भने घट्दो क्रममा रहेको छ । राजनीतिक अन्योलताका कारण सेयरबजारमा सकारात्मक संकेत नदेखिएको हो ।
सेयरबजार उकास्न सरकारले नीतिगत सहजीकरण गरेको छ । तर अर्थतन्त्र थप समस्यामा पर्ने हो की भन्ने भय लगानीकर्तामा हुँदा सेयरबजारमा लगानी बढ्न नसकेको हो ।
गत बिहीबार सेयरबजार परिसूचक नेप्से २६ सय अंकमा बन्द भएको थियो । त्यसपछि आइतबार खुलेको बजार ३० अंकले बढ्यो । तर सोमबार ८ अंकले घटेको सेयर बजार मंगलबार थप २७ अंकले ओरालो लाग्यो । बुधबार १२ अंकले बढेर बन्द भएको सेयर बजार आज फेरि ११ अंकले घट्यो । ब्याजदर घटिरहादा, बैंकमा तरलता थुप्रिँदा र राष्ट्र बैंकले लचक नीति अपनाउँदा पनि बजार भने बढ्न नसकेको हो । देशमा फेरि आन्दोलन हुने हो कि भन्ने भयले सेयर बजारमा लगानी नबढेको विश्लेषक बताउँछन् ।
बजारमा खरिद गर्नेभन्दा बिक्री गर्ने बढी हुँदा बजार घट्छ । अहिले केही लगानीकर्ता आफ्नो सेयर बेचिरहेका छन् भने केही पर्ख र हेरको अवस्थामा छन् । बेच्नेहरु बढ्दा सेयर घटेकाले एक साताको अवधिमा लगानीकर्ताको सम्पत्ति ५३ अर्बले घटेको छ ।