
जनकपुरधाम । लामो समयको छलफल पछि सात दलीय गठबन्धनले मधेश प्रदेशका नयाँ मुख्यमन्त्रीको नाम टुंगो लगाएको छ ।
बिहिबार मध्यान्ह सुरु भएको नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूको लगातार ६ घण्टाको लामो बैठक पछि आगामी मुख्यमन्त्रीको नाम टुंगो लगाएको हो । मुख्यमन्त्रीको नाम भने गोप्य राखिएको छ ।
मुख्यमन्त्रीको नियुक्ति लगतै अन्य मन्त्रीहरुको पनि सपथ ग्रहण गराउने तयारी रहेको जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले बताउनुभयो ।
नयाँ सरकार गठनको लागि आज दिउँसो २ बजे प्रदेश प्रमुख समक्ष सात दाबी पेस गर्ने दलको तयारी छ । गठबन्धनभित्र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्रीका दावेदार हुनुहुन्छ । बैठकमा सहभागी एक नेताका अनुसार लोसपा बाहेकका दल काँग्रेसका कृष्णप्रसाद यादवको नाममा सहमति गर्ने नजिक रहेको छ भने जसपा रिक्त सभामुख लिने नीतिमा लागेको दाबी छ ।
गठबन्धनभित्र कांग्रेस पहिलो र जसपा दोस्रो पोजिसनमा रहेको छ । यसले जसपा काँग्रेसलाई नेतृत्व दिएरै भएपनि सभामुख र सबभन्दा बढी बजेट रहेको भौतिक पुर्वाधार विकास मन्त्रालय लिने आन्तरिक रणनीतिमा रहेको छ । जनमत र माओवादी केन्द्र लगायतका दलहरु पनि महत्त्वपूर्ण मन्त्रालय लिने दाउमा छन् । मधेश प्रदेशमा अहिले जनमत पार्टीको उपसभामुख यथावत् छ ।