
काठमाडौं । वैदेशिक रोजगारी व्यवसायीहरूले युरोपेली मुलकबाट आउने श्रमिकको मागपत्र प्रमाणीकरण सहज गराउन माग गरेका छन् ।
सरकारले सहजीकरण नगर्दा वार्षिक एक लाखभन्दा बढी रोजगारीका अवसर गुमेको भन्दै व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले युरोपेली मुलुकबाट आउने श्रमिकको मागपत्र व्यवस्थित गर्न मागपत्र जाँचबुझ निर्देशिका ल्याए पनि कार्यान्वयनमा ल्याउन नसकेको उनीहरूको भनाइ छ ।
वैदेशिक रोजगारीमा हुने ठगीमध्ये ९० प्रतिशतभन्दा बढी ठगी इजाजत नै नलिएका संस्थाबाट भएको व्यवसायीको आरोप छ । यस्तै, युरोपमा रहेको नेपाली श्रमिकको मागलाई वैधानिक र संस्थागत गर्न व्यवसायीले माग गरेका छन् । युरोपका क्रोएशिया, रोमानिया, जर्मनी, पोल्यान्ड, सर्बिया, स्पेनलगायतका देशबाट श्रमिकको माग आए पनि त्यहाँ संस्थागत तवरले पठाउन सकिएको छैन ।
व्यवसायीहरूले कोरिया र जापानमा दक्ष श्रमिक पठाउने व्यवस्था मिलाउन समेत माग गरेका छन् । यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरक्षित रूपमा श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने विषयमा त्रिपक्षीय बैठक गरेको बताएको छ । विभिन्न देशबाट आउने मागपत्रको विश्लेषण, जाने श्रमिकहरूलाई सीप तथा गुणस्तरीय स्वास्थ्य परीक्षणका विषयमा सरकार, व्यवसायी र सेवा प्रदायकबीच छलफल भएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।