
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोज र कात्तिकको वर्षापछिको बाढी, पहिरो र डुबानबाट कृषि क्षेत्रमा करिब २ अर्ब ९१ करोड बराबरको क्षति भएको जनाएको छ ।
असोज १५, १६ र १७ गते अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका सबैभन्दा बढी क्षति धानबालीमा भएको अध्ययनले देखाएको मन्त्रालयको भनाइ छ । त्यसपछि तरकारी र केराबालीमा क्षति भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो ।
बढी क्षति कोशी प्रदेश र झापामा बढी धानबालीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । त्यसपछि मधेश, बागमती र गण्डकी प्रदेशसहित समग्रमा करिब २० हजार हेक्टर धानबालीमा क्षति पुगेको प्रतिवेदनमा औँल्याइएको छ । कात्तिकमा आएको वर्षाले पाक्नका लागि तयार भएको धानबालीलाई बढी क्षति पुर्याएको थियो ।
विपद्का कारण चालु आर्थिक वर्षमा करिब ५ देखि ७ प्रतिशत धान उत्पादन घट्ने अनुमान छ । धानबाहेक ५८६ हेक्टर तरकारी खेती नष्ट हुँदा २२ करोड २३ लाख र अन्य नगदे बालीमा २ करोड ४१ लाखको क्षति भएको छ । तरकारीको लागि पकेट क्षेत्र मानिएको सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्ला बढी प्रभावित भएको पाइएको छ ।