
पाँचथर । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विस्थापित पाँचथरका सातवटा प्रहरी चौकी पुनः स्थापना भएका छन ।
प्रहरी चौकी सिंहापुर, अस्थाइ प्रहरी पोष्ट भुल्के, ओयाम, थोक्लिम्बा, आङसराङ सहित प्रहरी चौकी गोपेटार र फलैंचामा पुनः प्रहरी चौकी पठाइएको हो । ती सबै चौकी जेनजी आन्दोलन भड्किँदै जाँदा सुरक्षा खतरालाई मध्यनजर गर्दै सदरमुकाम केन्द्रीत गरिएको थियो ।
प्रहरी चौकीलाई सदरमुकाम सहित विभिन्न प्रहरी चौकीमा गाभिएपछि स्थानीयले पुनः स्थापनाको माग गर्दै आएका थिए । विस्थापित मध्ये अस्थायी प्रहरी पोष्ट ओयाममा शुक्रबार प्रहरी कर्मचारी पठाइएको छ । यस्तै सिंहापुर र भुल्केमा बिहिबार र अन्य प्रहरी चौकीमा केहिदिन अघि प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख अनिषकुमार कर्णले जानकारी दिनुभयो ।
प्रहरी नहुँदा अपराधिक घटनामा बृद्दि हुनका साथै निर्वाचन सुरक्षामा समेत प्रभाव पर्ने भन्दै पुनः स्थापना गर्न माग भइरहेको थियो ।