
काठमाडौं । व्यवसायिक संस्थाका छाता संगठनहरूले मुलुकको आर्थिक स्थायित्व, व्यवसायिक सुरक्षा र सुशासनका लागि सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार राजधानी काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै निजी व्यवसायीक संस्थाका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । पत्रकर सम्मेलनमा बोल्दै मिडिया अलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले संस्थाका प्रतिनिधिहरूको बैठकले व्यवसायिक सुरक्षाको लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय भएको पनि बताउनु भयो ।
उहाँकाअनुसार बैठकले राज्यले उद्यमी र व्यवसायीहरूको सुरक्षालाई अपरिवर्तनीय दायित्वको रूपमा स्वीकार गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ । उहाँले आसन्न प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने तथा लोकतान्त्रिक अभ्यासको निरन्तरतामा निजी क्षेत्रको सकारात्मक भूमिकाका साथ अघि बढ्ने निर्णय समेत निजी संस्थाका प्रतिनिधिहरूको बैठकले गरेको छ ।
बदलिदो आर्थिक अवस्थासँग सन्तुलन कायम गर्दै सरकारी कार्यालयहरूबाट प्रवाह गरिने सेवा, प्रक्रिया र सहजीकरणलाई व्यवसायमैत्री बनाउन सरकारले ठोस कदम चाल्नुपर्ने उनीहरूको माग छ । बैठकले निजी क्षेत्र, सरकार र नागरिक समाजबीचको विश्वासलाई सुदृढ पार्दै पारदर्शिता, उत्तरदायित्व र स्थायित्वमुखी आर्थिक नीति कार्यान्वयन गर्न सबै पक्षलाई आह्वान समेत गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का अध्यक्ष गणेश कार्कीले स्थिर नीति बिना देशको आर्थिक वृद्धि र लगानी सुरक्षाको वातावरण सिर्जना गर्न नसकिने बताउनु भयो । सरकार परिवर्तन भइरहे पनि दीर्घकालीन नीतिगत स्थायित्व आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले निजी क्षेत्रको लागि वातावरण सिर्जना गर्न तथा लगानीको ग्यारेन्टी लिन सरकारसँग आग्रह समेत गर्नुभयो ।
उहाँले निजी क्षेत्रको भूमिकालाई राष्ट्रिय अर्थतन्त्रको मेरूदण्डका रूपमा व्यख्या गर्दै मुलुकको आर्थिक उन्नति र व्यवसायिक लगानी सुरक्षित गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।