
काठमाडौं । काठमाडौंको हायात रिजेन्सी होटल बन्द भएको विषयमा सरकारले भोलि होटल व्यवस्थापनसँग छलफल गर्ने भएको छ ।
सरकारका तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले आइतबार होटल व्यवस्थापनसँग छलफल गर्नुहुने भएको हो । जेन-जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएको होटलले शुक्रबार एक सूचना जारी गर्दै तत्काल होटल सञ्चालन गर्न नसकिने जनाएको थियो ।
साथै, होटल व्यवस्थापनले अर्को निर्णय नभएकासम्मका लागि आफ्ना कर्मचारीलाई होटल परिसरमै उपस्थित नहुन भनेको थियो । होटल पूर्ण रूपमा बन्द रहने जानकारी व्यवस्थापनले दिएपछि शनिबार सरकारले यसप्रति चासो राखेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि सुरक्षा व्यवस्थाका लागि चिन्ता नगर्न भन्दै ढुक्क भएर होटल चलाउन आग्रह गर्नुभएको हो ।