रूपन्देही । कुखुरापालक किसानहरू अहिले भारतीय अवैध कुखुराका कारण ठूलो संकटमा परेका छन् ।
सस्तो मूल्यमा भारतबाट भित्रिने कुखुराले स्वदेशी उत्पादन नबिक्दा किसानले लागतसम्म उठाउन सकेका छैनन् । चाडपर्वको बेला तस्करी बढ्दै जाँदा किसानको मेहनत र व्यवसाय दुवै जोखिममा परेको छ ।
रूपन्देहीको मर्चवारी गाउँपालिकाका किसान मोहम्मद रहिज खानको फार्ममा १५ हजारभन्दा बढी कुखुरा बिक्रीका लागि तयार छन् । तर, भारतीय कुखुराको अवैध आयातका कारण बजार नपाउँदा उनी समस्यामा परेका छन् । यो समस्या रहिज खानको मात्र होइन, सीमावर्ती तराईका धेरै किसानले यस्तै चुनौती भोगिरहेका छन् ।
नेपाल सरकारको तथ्यांकअनुसार देश कुखुरा उत्पादनमा आत्मनिर्भर छ । तर, तराईका मुख्य बजारमा भारतीय कुखुराको मासु सहजै उपलब्ध हुन्छ । भारतीय कुखुरा नेपालीभन्दा प्रतिकिलो ७० देखि ८० रूपैयाँ सस्तोमा पाइन्छ, जसलाई तस्करहरूले सिधै व्यापारीको घरसम्म पुर्याउने गरेका छन् । किसानहरू सुरक्षा निकायको उदासीनताका कारण कुखुरा व्यवसाय संकटमा परेको आरोप लगाउँछन् ।
चाडपर्वको समयमा मासुको खपत बढ्ने भएकाले कुखुरा तस्करी झनै बढेको छ । विशेषगरी जेन-जी आन्दोलनपछि सुरक्षाकर्मीहरूको मनोबल कमजोर भएको मौका छोपी तस्करहरू थप सक्रिय भएका छन् । यसलाई नियन्त्रण गर्न पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लाका पशु क्वारेन्टाइन कार्यालयले किसान र सुरक्षा निकायको सहकार्यमा सीमा नाकाको अनुगमन र निगरानी बढाएको छ ।
हाल पश्चिम तराईका किसानले प्रतिकिलो १९५ रूपैयाँमा कुखुरा बिक्री गरिरहेका छन्, जुन उनीहरूको उत्पादन लागत मात्र हाे। अवैध भारतीय कुखुराका कारण हरेक दिन मूल्य घटिरहेको बेला किसानहरू आफ्नो लागत जोगाउन संघर्ष गरिरहेका छन् ।