सरकारको निर्देशनपछि पूर्वसभामुख र सांसदहरुले गरे गाडी फिर्ता

आश्विन २३, २०८२ |सुदिल पोखरेल
सरकारको निर्देशनपछि पूर्वसभामुख र सांसदहरुले गरे गाडी फिर्ता

काठमाडौं । अनुत्पादक खर्च कटौती गर्ने भन्दै सरकारले कानुन बिपरीतका सुविधा फिर्ता गर्न निर्देशन दिएपछि संसदीय समितिका सभापति, पूर्वसभामुख तथा दलका सचेतकहरुले सवारी साधन फिर्ता गरेका छन् । संसद सचिबालयले दिएको जानकारी अनुसार बिहीबारसम्म २० जनाले सवारी साधन फिर्ता गरेका छन् ।

गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैंठकले अनुत्पादक खर्च तथा मितव्ययिता कायम गर्ने निर्णय गरेपछि अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई सुविधा फिर्ता गर्न निर्देशन दिएको थियो । सवारी साधन, जिन्सी सामान र सुरक्षाकर्मी फिर्ता गर्न भनिएको थियो । पूर्वसभामुखहरु कृष्णबहादुर महरा र ओनसरी घर्तिसँगै राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सवारी साधन फिर्ता गरिसक्नुभएको छ । पूर्वसभामुख तारानाथ रानाभाट र अग्निप्रसाद सापकोटाले भने सवारी साधन फिर्ता गर्न बाँकी रहेको संसद् सचिबालयले जनाएको छ ।

यसैगरी, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलसँगै संसदीय समितिका १२ जना सभापतिहरुले सवारी साधन फिर्ता गर्नुभएको छ । पोखरेलसहित राज्यका निर्देशक सिद्धान्तका सभापति ठाकुर गैरे, एमालेका तत्कालीन मुख्य सचेतक महेश बर्तौला र तत्कालीन सचेतक सुनिता बराल तथा पूर्वसभामुख घर्तिले फिर्ता गरेको सवारी साधनमा क्षति पुगेको संसद् सचिबालयले जनाएको छ । यीबाहेक संसद् सचिवालयका १९ वटा सवारी साधनमा पनि आगजनी भएको सचिबालयले जनाएको छ । 


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।