भैरहवा भन्सार कार्यालयमा आगलागीपछि केही दिन रोकिएको पैठारी फेरि पुरानै लयमा

आश्विन १, २०८२ |भुवन पाण्डे
भैरहवा भन्सार कार्यालयमा आगलागीपछि केही दिन रोकिएको पैठारी फेरि पुरानै लयमा

रूपन्देही । भैरहवा भन्सार कार्यालयमा आगलागीपछि केही दिन रोकिएको पैठारी फेरि पुरानै लयमा फर्किएको छ । 

असहज अवस्था बावजूद टेन्टमै कार्यालय सञ्चालन गर्दै दैनिक राजश्व संकलन पुनः तीव्र बनेको छ । नेपालको दोस्रो ठूलो नाका बेलहियाबाट सामान पैठारी फेरि नियमित बन्दैछ । 

गत मंगलबारको आन्दोलनमा भैरहवा भन्सार कार्यालय जलेपछि काम रोकिएको थियो । भन्सारका सबै कक्ष जले पनि प्रज्ञापनपत्र र भुक्तानी अनलाइनमार्फत हुने भएकाले कार्यालयले जलेको भवनकै प्राङ्गणमा टेन्ट टाँगेर काम सुरु गरेको छ । 

२६ गते ४ वटा ग्यास बुलेट प्रज्ञापन गरेको भन्सारले शुक्रबार र शनिबार करिब पाँच सय मालबाहक सवारीको प्रज्ञापन गरेको थियो । आइतबारदेखि कार्य अझ सहज भएको छ । जलेका भवनको मर्मत पनि सुरू भइसकेको छ ।

सामान्य अवस्थामा दैनिक पाँच सयभन्दा बढी गाडी नेपाल प्रवेश गर्छन् । आन्दोलनका कारण रोकिएका करिब दुई हजार गाडी क्रमशः प्रवेश गर्न थालेका छन् । भन्सारलाई सहज बनाउन भन्सार एजेन्ट संघ, व्यापारिक संघ संस्था, बैंक तथा वित्तीय संस्थाहरू सक्रिय छन् ।

भैरहवा भन्सारबाट दैनिक करिब ३५ करोड रूपैयाँ राजस्व संकलन हुँदै आएको छ । आन्दोलनपछि करिब ३४ करोड संकलन भएको छ भने आइतबार मात्रै करिब २६ करोड उठेको छ । 

चाडपर्व नजिकिँदै जाँदा पैठारी अझ बढ्ने अनुमान छ । अवैध तस्करीको जोखिम भएकाले नियामक निकायले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।