घरमा भएको सुन बेच्ने कि बजारबाट थप किन्ने ?

भाद्र २२, २०८२ |सुदिल पोखरेल
घरमा भएको सुन बेच्ने कि बजारबाट थप किन्ने ?

सुनको भाउ आइतबार १६ सय रूपैयाँले महंगो भएर २ लाख १२ हजार कायम भएको छ । 

सुनको भाउ दिनदिनै महंगो हुँदै गएपछि ग्राहक बजारमा सुन किन्न र बेच्न दुबैका लागि पुगेका छैनन् । यो बेलामा सुन थप किन्ने कि घरकै भएको सुन महंगो मूल्यमा बेच्ने भन्ने ग्राहक दुविधामा छन् । अहिले के घरमा भएको सुन बजारमा लगेर बेच्न उचित छ त ? कि थप सुन पो किन्ने हो कि ? 

सुनको मूल्यले नेपाली बजारमा पछिल्लो समय एक पछि अर्काे रेकर्ड कायम गरेको छ । अर्थात् हरेक दिनजसो सुनको मूल्य बढेको बढ्यै छ । तर, सुनको मूल्य आन्तरिक भन्दा पनि बाह्य कारणले बढिरहेको छ । 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको माग ह्वात्तै बढेको छ । यसको उपलब्धता भन्दा माग बढी भएपछि सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै उकालो लागेको हाे । सुनको मूल्य यति धेरै किन बढी रहेको छ त ? 

पहिला जानौ मूल्य बढ्नुका मूख्य कारणहरू :

अमेरिकि राष्ट्रपति डनल्ड ट्रम्पले विभिन्न देशमा फरक-फरक ट्यारिफ घोषणा गरिरहेका छन् । यस्तो अस्थिर ट्यारिफका कारण विश्वभरका लगानीकर्ता व्यापार व्यवसाय तथा उद्योगमा थप लगानी बढाउने भन्दा पनि सुरक्षित स्थानमा लगानी बढाउन चाहिरहेका छन् । र, यस्तो सुरक्षित बस्तुको रूपमा उनीहरूले सुनलाई लिएका छन् ।

व्यक्तिगत लगानीकर्ता मात्रै हैन, पछिल्लो समय विश्वभरका केन्द्रीय बैंकहरूले समेत अन्य अर्थात् ऋणपत्र, डलर भन्दा पनि सुनमा लगानी बढाइरहेका छन् । केन्द्रीय बैंकहरूले समेत सुनमा यसरी लगानी बढाएपछि माग ह्वात्तै बढेको छ । र, बढेको मागले मूल्य पनि ह्वात्तै उकालो लागेको छ ।

ट्रम्पको अस्थिर नीतिसँगै सुनमा लगानी बढाउन अमेरिकि केन्द्रीय बैंकले ब्याजदर थप घटाउने संकेत पनि अर्काे कारण बनेको छ । सेप्टेम्बर महिनामा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर थप घटाउने संकेत गरेको छ। 

ब्याजदर घटेसँगै त्यसले डलरको आकर्षण कम गराउने आकलन गरिएको छ । र, यहि आकलनकै आधारमा यसअघि डलरमा भइरहेको लगानी सुनमा सिफ्ट भएको छ ।

अर्काे कारण हो, सुनको भाउ ४ हजार अमेरिकी डलर प्रति आउन्स पुग्ने आकलन । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिआउन्स ३५ सय ८६ अमेरिकी डलर छ । 

जुन सन् २०२६ को मध्यसम्ममा ४ हजार अमेरिकी डलरसम्म पुग्नसक्ने अन्तर्राष्ट्रिय लगानी विज्ञहरूको आकलन छ । अर्थात् सुनको भाउ यस्तो बढ्ने क्रम निरन्तर हुने हो भने प्रतिआउन्स नेपाली मूल्यमा ५८ हजार थप बढ्न सक्छ । 

युक्रेन-रूस जस्ता देशमा युद्ध जारी रहेकाे कारण लगानीको वातावरण बिग्रदैँ गएको र भू-राजनीतिक तनाब हुँदा र यो तत्कालै साम्य हुने नदेखिएकाले विश्वभरका लगानीकर्ताले सुनमा लगानी बढाउँदै लगेका हुन् । 

यही आधारमा नै सुनको मूल्य थप बढ्ने आकलन गरिएको हो । त्यसैले घरमा भएको सुन बेच्ने भन्दा पनि थप किन्न व्यवसायीहरू सुझाव दिन्छन् । 

यी त भए आन्तरिक कारणहरू । यसबाहेक हाम्रै सरकारका नीति तथा नेपाली रूपैयाँ कमजोर हुँदा पनि अन्य देशको तुलनामा हाम्रोमा सुनको मूल्य थप महंगो भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारतीय रूपैयाँको मूल्य घटेको छ । गत वैशाखसम्म १ सय ३६ रूपैयाँ रहेको डलरको भाउ अहिले १ सय ४१ पुगेको छ । यसकै कारण पनि नेपाली बजारमा एक तोला सुनमा नेपाली ग्राहकलाई प्रतितोला ९ देखि १० हजार बढी तिर्नु परेको छ । 

यस बाहेक सरकारले अहिले सुनका गरगहनामा दुई प्रतिशत बिलासिता कर लगाएको छ । बिलासिता करले फेरी थप तोलामै ४ हजार बढी रकम सुन महंगो बनाएको छ । अर्थात् प्रतितोलामा १४ हजार त हाम्रै कारणले भइरहेको छ ।  


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।