काठमाडौं । धेरै नेपालीले गन्तव्य बनाउँदै आएको अस्ट्रेलियासँग सरकारले श्रम समझदारी गर्ने गृहकार्य सुरू गरेको छ ।
अस्ट्रेलियामा आवश्यक श्रमिकको माग पूर्ति गर्न श्रम समझदारी गर्न लागिएको हो । सरकारले नेपाली दूतावासमार्फत् अस्ट्रेलिया सरकारसमक्ष श्रम समझदारीको मस्यौदा नै पठाइसकेको छ । साउदी अरेबियासँग भने एक महिनाभित्र श्रम सम्झौता गरिसक्ने श्रम मन्त्रालयले जनाएको छ ।
सरकारले अस्ट्रेलियास्थित नेपाली दूतावास र अस्ट्रेलियन सरकारको आग्रहअनुसार गत साता श्रम समझदारीको मस्यौदा पठाइसकेको छ । धेरै नेपालीले गन्तव्य बनाउादै आएको अस्ट्रेलियामा वैधानिकरूपमै श्रमिक पठाउन श्रम समझदारी गर्न लागिएको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीका अनुसार अब अस्ट्रेलियाबाट आउने जवाफका आधारमा सरकार अघि बढ्ने छ । अस्ट्रेलियामा नर्सिङ्ग, सेवा तथा कृषि क्षेत्रमा श्रमिकको माग उच्च छ ।
अहिले नेपाली विद्यार्थीको प्रमुख आकर्षक गन्तव्यका रूपमा अस्ट्रेलिया रहँदै आएको छ । विद्यार्थी भिषाका नाममा जाने र उतै काम गर्न प्रवृत्ति मौलाएपछि श्रमिककै रुपमा जान वातावरण मिलाउन लागिएको हो ।
त्यसो त श्रम मन्त्रालयले नेपालीको अर्को गन्तव्य मुलुक साउदी अरेबियासँग पनि श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले साउदीसँग श्रम सम्झौता गर्न स्वीकृति दिइसकेको छ ।
शून्य लागतमा श्रमिक भर्ना गर्ने र श्रमिकका न्यूनतम् अधिकार प्रत्याभूति गर्ने गरी सम्झौता हुने छ । साउदीमा झन्डै ५ लाख नेपाली श्रमिक छन् । नेपाली श्रमिकको दोस्रो ठूलो गन्तव्य साउदीसँग हुने श्रम समझदारीलाई रोजगार व्यवसायीले सकारात्मक भनेका छन् ।
साउदी अरेवियाले सन् २०३४ मा फिफा विश्वकप गर्दैछ । साउदीमा अन्य पूर्वाधार पनि निर्माण हुन लागेको उसलाई ठूलो श्रमशक्ति आवश्यक छ । ठूलो संख्यामा श्रमिक पठाउन पनि बलियो श्रम सम्झौता गर्न विज्ञहरूले सुझाउँदै आएका छन् ।