ताप्लेजुङ । वैदेशिक रोजगारीले आर्थिक अवस्थासँगै जीवन बदलेका धेरै कथाहरू छन् ।
पूर्वी हिमाली जिल्ला ताप्लेजुङ रोजगारीका लागि निकै सकस रहेको छ । भौगोलिक हिसाबले नेपालको तेस्रो ठूलो जिल्ला ताप्लेजुङमा भौगोलिक विकटतामात्र होइन रोजगारीका अवसरहरु पनि निकै कम छ ।
यहाँका धेरै मानिसहरु रोजगारीका लागि विदेश गएका छन् । अधिकांश खाडीमुलुक जाने गरेका छन् भने केही युरोप अमेरिका पनि पुगेका छन् । आज हामी चर्चा गर्दैछौं ताप्लेजुङकी रनमाया विश्वकर्माको जीवनमा रेमिट्यान्सले ल्याएको रुपान्तरणको ।
छ छोरा र पाँच छोरीलाई जन्मदिएकी मिक्वाखोला गाउापालिका-४ साँवाकी ६१ वर्षीया रनमाया बिश्वकर्मा २४ वर्षअघि फुङलिङ बसाई सर्नुभएको हो । रोगले धमाधम छोराछोरीको ज्यानै जान थालेपछि उहाँ मिक्वाखोलाबाट फुङलिङ नगरपालिका-८ दोखुमा बसाइ गर्नुभएको हो ।
अहिले तीन जना छोराले विदेशबाट पठाएको रेमिट्यान्सले उहाँको जीवनमा निकै राम्रो सुधार आएको छ । अहिले ती दुःखका दिनलाई सम्झिदा उहाँ भावुक बन्नुहुन्छ ।
श्रीमान लालबहादुरसँगै चार छोरा र दुई छोरी डोर्याएर २४ वर्षअघि फुङलिङ आउनुभएकी उहाँले माओवादी द्धन्द्धमा साइलो छोरो गुमाउनु भयो । बाँकी तीन भाइछोरा चन्द्र, कुमार र सुवास अहिले वैदेशिक रोजगारीमा गए ।
अहिले तीनैजना दुबई र कतारमा हुनुहुन्छ । फुङलिङ आउँदा वर्षभरी कमाइ गर्ने र साहुलाई बर्षेनि १४ मुरी धान कुत भर्ने विश्वकर्माको परिवारले अहिले त्यो जग्गा नै किनेका छन् । दुई छोरीको धुमधामसँग विवाह भइसकेको छ । तीनै छोराले आ-आफ्नो घर बनाएका छन् ।
जेठा चन्द्रले झापा गरामनीमा आफ्नो बन्दोबस्ती मिलाउनुभएको छ । माइलो कुमार र कान्छो सुवासका परिवार फुङलिङमा छन् । अर्काको जमिनमा ल्याएर छोराछोरी राखेका उनीहरूका छोराछोरीलाई सवैले सामुदायिक र निजी विद्यालयमा लगाएर राम्रो शिक्षा लिइरहेका छन् ।
कमाउँदै परिवारको रेखदेख गर्दै लागेको क्रृण तिर्दै पौरख गरिरहेकोमा परिवार सन्तुष्ट देखिन्छन् ।