
खोटाङ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारासहित २०६९ साउन ३ गते दिक्तेलबजारमा स्थापना गरिएको सालपा विकास बैंकले शेयर निस्कासन गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएसँगै बैंकले शेयर निस्कासन गर्ने भएको हो । बैंकलाई बोर्डले १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्कासनका लागि अनुमति दिएको हो। संस्थापक शेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी दुई करोड लगानीमा स्थापना गरिएको बैंकको कूल चुक्ता पुँजी ३५ करोड पुगेपछि आईपीओका लागि बोर्डसँग बैंकले अनुमति माग गरेको थियो ।
वैदेशिक रोजगारीमा रहेकाका लागि दश प्रतिशत, मेच्यिुअल फन्टका लागि साँढे दुई प्रतिशत, कर्मचारीका लागि शून्य दशमव पाँच प्रतिशत र बाँकी ८७ प्रतिशत सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको जनाइएको छ । नेपाल राष्ट्र बैंकबाट (ख) श्रेणिको अनुमति लिएर सञ्चालन गरिएको बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड कम्पनी तोकिएको जनाइएको छ ।
पहिलोपटक निष्कासन गर्न लागिएको शेयर प्रतिगोटा रू १ सयका दरले बिक्री गरिने भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा शाखा विस्तार गरेर सेवा प्रदान गर्दै आएको बैंकले १२ वर्षपछि मोबाइल बैङ्किङ सेवा उपलब्ध गराएको थियो । आईपीओ खुला गरेलगत्तै विभिन्न जिल्लामा शाखा विस्तार गर्ने तयारी गरिएको सञ्चालक समितिका अध्यक्ष टंक राईले जानकारी दिनुभएको छ ।
बैङ्कले निक्षेप रकमलाई जिल्लाका कृषि, पर्यटन, व्यवसायी, उद्यमीहरूको व्यवसाय प्रवर्द्धनका लागि शुलभ ब्याज दरमा कर्जा उपलब्ध गराउँदै आएको छ । ‘जनता बैङ्कमा होइन, बैङ्क जनतासम्म जानुपर्छ’ भन्ने अवधारण लिएर स्थापना गरिएको सालपा विकास बैङ्क ‘एक घर, एक खाता’ परियोजनासमेत सञ्चालन गरेको छ ।