
हुम्ला । कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लाका तीन स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले डाक्टरहरू खटाएको छ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीका अनुसार खार्पुनाथ, सर्केगाड र अदानचुली गाउँपालिकामा चिकित्सा जनशक्ति बिस्तार गर्ने उद्देश्यका साथ प्रदेश सरकारले यो व्यवस्था गरेको हो। खार्पुनाथ गाउँपालिकामा डाक्टर डिजेल यादव, सर्केगाड गाउँपालिकामा डाक्टर ईश्वरी पौडेल तथा अदानचुली गाउँपालिकामा डाक्टर गणेश जैसीलाई खटाइएको छ । तीमध्ये डाक्टर डिजेल यादव खार्पुनाथ गाउँपालिकामा हाजिर भइ काम थालिसक्नुभएको छ ।
दुर्गम भौगोलिक चुनौतीको बीचमा हुम्लाका स्थानीय तहमा चिकित्सकको अभाव भइरहेकाले प्रदेश सरकारले स्वास्थ्य सेवा सहज बनाउने लक्ष्यअनुसार यो पहल अघि बढाएको हो। यस कदमले गाउँपालिका तहमा आधारभूत स्वास्थ्य सेवा सुदृढ हुने अपेक्षा गरिएको छ।