प्रथम राष्ट्रिय कोदो दिवस आज मनाइदै

चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ गरिदैँ
श्रावण १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रथम राष्ट्रिय कोदो दिवस आज मनाइदै

काठमाडौं । आज राष्ट्रिय कोदो दिवस मनाइदैछ । कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले सरकारले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउन लागेको हो । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि दिवस मनाउन लागिएको हो ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको छ ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिनुभयो । कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार ३ सय १६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।

दिवसका अवसरका आज चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम रहेको छ । मधेश प्रदेशले आज कोदो महोत्सव गर्दैछ । अवदेखि सरकारले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.