बाँके । जिल्ला सरकारी वकिल कार्यालय बाँकेले ३ अर्ब २० करोड रूपैयाँ अपचलन गरी बैकिङ कसुर गरेको अभियोगमा कर्णाली विकास बैंक नेपालगन्जका सन्चालक र ऋणीहरूसहित १ सय ९ उच्चअदालतमा मुद्दा दायर गरेको छ ।
कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित १ सय ९ जनाविरूद्ध उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा बुधबार मुद्दा दायर भएको हो । सबैभन्दा धेरै संस्थापक अध्यक्ष रायले २ अर्ब ६३ करोड ३२ लाख रूपैयाँ अपचलन गरेको अभियोग लगाइएको छ।
दोस्रोमा बैंकका विभागीय प्रमुख दिनेशकुमार रावतले १ अर्ब ६२ करोड २० लाख रूपैयाँ र तेस्रोमा प्रमुख कार्यकारी अधिकृत निरजविक्रम शाहले १ अर्ब २९ करोड ३३ लाख रूपैयाँ अपचाल गरेको अभियोग छ।
सन्चालकमध्येकै एमाले नेता पशुपतिदयाल मिश्रले ८८ करोड भन्दा बढी अपचलन गरेको देखिएको जिल्ला सरकारी वकिल कार्यलयलले जनाएको छ । बैंकमा भएको अपचलनको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआइबीले छानबिन गरेको प्रतिवेदन सरकारी वकिल कार्याललाई बुझाएलगत्तै मुद्दा दर्ता भएको हो ।
सीआइबीले बैकिङ कसुरमा १ सय ११ जना माथि छनबिन गरेको थियो । सीआइबीले हालसम्म चार जनालाई पक्राउ गरेको छ । मुद्दा चलाइएका मध्ये बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष तथा सन्चालक पशुपतिदयाल मिश्र, वित्त प्रमुख वेदप्रकाशसिंह ठकुरी र राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् ।
अभियोग लगाइएका मध्ये दुई जनाको मृत्यु भइसकेको र उनीहरूको संलग्नताको कागजात फेला नपरेकाले मुद्दा नचलाइएको जिल्ला सरकारी वकिल कार्यालय बाँकेले जनाएको छ । मुद्दा चलाइएका मध्ये अधिकांश ऋणीहरू रहेका छन् ।