काठमाडौं । विदेशमा काम गर्न गएकाहरुले पठाउने रेमिट्यान्स चालु आर्थिक वर्षको ११ महिनामा १५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १५ खर्ब ३२ अर्ब रुपैयाँ भित्रिएको जनाएको छ ।
देशको आर्थिक तथा वित्तीयसम्बन्धी प्रतिवेदन आज सार्वजनिक गर्दै राष्ट्र बैंकले रेमिट्यान्स बढेको र यसले विदेशी विनिमय सञ्चिती पनि बढाएको जनाएको हो । साथै शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा थियो । २०८१ साल असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५ दशमलव ९ प्रतिशतले बढेर २०८२ जेठमा २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ । यस्तो सञ्चितीले १४ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ ।
२०८२ जेठसम्म राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ३९ अर्ब ९८ करोड नगद मौज्दात छ । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ खर्ब ७ अर्ब ६२ करोड अर्थात ८ दशमलव ० प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा जम्मा २ खर्ब ४६ अर्ब ८० करोड अर्थात ५ दशमलव १ प्रतिशतले बढेको थियो ।
२०८२ जेठ महिनामा महंगी २ दशमलव ७२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव १७ प्रतिशत थियो । घ्यू तथा तेल १० दशमलव ०६ प्रतिशत, दाल तथा गेडागुडीको मूल्य २ दशमलव ८५ प्रतिशतले बढेको छ ।
तर, तरकारीको भाउ ७ दशमलव ०४ प्रतिशत, मरमसलाको ३ दशमलव ०६ प्रतिशत र माछा तथा मासुको २ दशमलव ९१ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।