उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह

असार २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको बाढी आएको छ । आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।

अहिलेसम्म चुमजुङ लेकबाट आएको भीषण बाढीका कारण लोमान्थाङ गाउँपालिकाभित्रका करिब चार वटाभन्दा बढी अस्थायी पुल र कल्भर्ट बगाइसकेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । “यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौं, यहाँबाट मुस्ताङको तल्लो क्षेत्रमा कालीगण्डकी तटीय बस्तीलाई फोनबाट सर्तक रहन आग्रह गरेका छौं ।”

अध्यक्ष गुरुङले उपल्लो मुस्ताङबाट भीषण बाढी आउन सुरू गरेको प्रहरी र प्रशासन सबैलाई जानकारी गराइएको बताउनुभयो । यहाँको बाढीको प्रभावले कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई थप जोखिम हुने देखिएकाले सर्तक रहन हामीले फोनमार्फत सूचना गरेको अध्यक्ष गुरुङको भनाइ छ । 

उपल्लो मुस्ताङको चुमजुङ गाउँ नेपाल–चीन सीमावर्ती नजिकको गाउँ हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.