कृषि र साना तथा मझौला उद्योगीको समस्या सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने गभर्नरको भनाइ

शक्तिशाली सम्पत्ति व्यवस्थापन कम्पनी बनाउन बैंकरहरूको सुझाव
असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
कृषि र साना तथा मझौला उद्योगीको समस्या सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने गभर्नरको भनाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आगामी मौद्रिक नीति कृषि र साना तथा मझौला उद्योगीको समस्या सम्बोधन गर्ने गरी आउने संकेत गर्नुभएको छ । आर्थिक पत्रकार समाजले आज काठमाडौंमा गरेको मौद्रिक नीतिसम्बन्धी कार्यक्रममा बोल्दै गभर्नर पौडेलले कृषि र साना व्यवसायमा गएको ऋण खराब कर्जामा परिणत भए पनि यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको हो ।

कृषि क्षेत्रमा गएको कर्जाको ९ प्रतिशत र साना तथा मझौला उद्योगी तथा व्यवसायीमा गएको कर्जामध्ये ८ प्रतिशत खराबमा परिणत भएको छ । साना तथा मझौला उद्योगी र कृषकलाई समस्याबाट बाहिर निकालेर यो क्षेत्रमै कर्जा बढाउनुपर्ने गभर्नर पौडेलको भनाइ छ ।

गभर्नर पौडेलले सबैको पहुँचमा ऋण नभएकाले विपन्नहरूले चर्को ब्याज तिर्नुपरेको पनि बताउनुभयो । बैंकरहरूले भने बैंकले धितो लिलाम गरी पैसा उठाउन खोज्दा पनि नसकेकाले शक्तिशाली सम्पत्ति व्यवस्थापन कम्पनी आवश्यक रहेको बताएका छन् ।

बैंकर्सहरूले स्थानीय तहले धितो लिलाममा असहयोग गरेको गुनासो पनि गरेका छन् । अहिले नगदप्रवाहमा समस्या रहेको र सम्पूर्ण सम्पत्ति बेच्दा पनि ऋण तिर्न नसकेको अवस्था भएकाले यस्तो समस्या सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने सुझाव उनीहरूले दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.