काठमाडौं । उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुनमन्त्री अजय चौरसिया, उद्योगमन्त्री दामोदर भण्डारी र चिकित्सक संघका पदाधिकारीबीच आज दिउँसो भएको अनौपचारिक छलफलपछि दुवै पक्ष वार्तामा बसेका हुन् ।
दिउँसोको बैठकमा चिकित्सकका माग कसरी सम्बोधन गर्ने विषयमा छलफल भएको थियो । उपभोक्ता अदालतको फैसलाविरुद्ध आकस्मिकबाहेकका सेवा ठप्प पारी चिकित्सक आन्दोलनमा उत्रिएपछि वार्ताको पहल भएको हो ।
उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको भन्दै तीन वटा अस्पताल र चिकित्सकलाई लाखौं रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेपछि चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो । उपभोक्ता ऐन संशोधन गर्नुपर्ने माग पूरा नभएसम्म आन्दोलन जारी रहने संघले जनाएको छ ।
अत्यावश्यक क्षेत्रमा हडताल गर्न नपाइने कानुनविपरीत चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि देशभरका स्वास्थ्य संस्था प्रभावित भएका छन् भने बिरामीहरू उपचार गर्न नपाएर मर्कामा परेका छन् ।