काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले आगामी असोज १ र २ गते काठमाडौंमा पावर समिट आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै इपानले कार्यक्रममा ३० भन्दा बढी देशका लगानीकर्ता तथा पाहुनाहरू उपस्थित हुने जानकारी दिएको छ ।
सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा भारतको विदेश मन्त्रालय साझेदार रहेको इपानले जनाएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र कम्पनीहरू सहभागी हुने कार्यक्रममा नेपाल सरकारको लक्ष्यअनुसार सन् २०३५ सम्ममा कसरी विद्युत् उत्पादन गर्ने र त्यसको बजार कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल हुनेछ । त्यसैगरी नेपालका जलविद्युत् आयोजनामा वैदेशिक लगानी केन्द्रित गराउनेबारे पनि छलफल हुनेछ ।
सम्मेलनले विशेषज्ञ तथा सरोकारवालालाई एकै ठाउँमा भेला गरी नीतिगत बहस तथा हासिल भएका सफलता र अनुभवको आदानप्रदान गर्ने इपानले जनाएको छ । सम्मेलनमा जलविद्युत्सँगै सौर्य तथा ग्रीन हाइड्रोजनमा लगानी भित्र्याउनेबारे पनि बहस गरिनेछ ।
सन् २००६ देखि सुरु भएको यो समिट यसअघि सन् २०२३ मा आयोजना भएको थियो ।