काठमाडौं । वन तथा वातावरण मन्त्रालयले ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ राजपत्रमा प्रकाशित गरेसँगै नेपालमा यूरो-६ प्रदूषण मापदण्ड लागु भएको छ । लामो समयदेखि कार्यान्वयनको बहसमा रहेको यो मापदण्ड सरकारले ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ कार्यान्वयनमा ल्याएसँगै लागु गरेको हो ।
राजपत्रमा प्रकाशित नयाँ मापदण्डअनुसार अब दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको हकमा यूरो-५ र कम्तीमा चार पाङ्ग्रा भएका सवारी साधनको हकमा यूरो-६ मापदण्ड बमोजिमको परीक्षण विधि मान्य हुनेछ ।
नेपालमा २०६९ सालयता नै यूरो-३ मापदण्ड कायम छ । यसले वातावरणीय प्रदूषण बढाएको भन्दै यूरो-६ लागू गर्न माग भइरहेको थियो । यूरो-३ मापदण्ड ल्याउँदा २ वर्षपछि (२०७१ सालमै) यूरो-४ मा जाने सोच राखिएको थियो । तर त्यसयता निरन्तर यूरो-३ नै कायम राखिएको थियो । यूरो-५ का हकमा भने ३५० केजीसम्म तौल भएका हलुका चार पाङ्ग्रे सवारी साधनमा लागु हुने भनिएको थियो ।
न्यूनतम ३.५ टनसम्म तौल भएकादेखि सबै मालबाहक साना, मझौला र ठूला सवारीमा समेत यूरो-६ मापदण्ड लागु भएको मन्त्रालयले बताएको छ ।
युरो-६ लागु हुने चार पाङ्ग्रेमा भने साना यात्रुबाहक सवारी साधन (चालक बाहेक ८ यात्रु सिट क्षमता भएका), मझौला यात्रुबाहक सवारी साधन (८ सिटभन्दा बढी क्षमता) र ठूला यात्रुबाहक सबै सवारी साधनको हकमा लागु भएको छ ।
सवारी साधन उत्पादन हुने अन्य कुनै देशमा प्रचलनमा रहेको यस मापदण्ड सरहको प्रदूषण मापदण्ड र यस मापदण्डबीच भिन्नता देखिएमा सवारी साधनबाट हुने उत्सर्जनमा रहने प्रदूषण कारक तत्वको अधिकतम सीमा सम्बन्धमा नयाँ मापदण्डमा तोकिएका सीमा मान्य हुने समेत प्रदूषण मापदण्डमा उल्लेख छ ।