मौद्रिक नीतिमा चालु पुँजीकाे कर्जा सीमा बढाउन पूर्वका उद्योगी व्यवसायीको सुझाव

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मौद्रिक नीतिमा चालु पुँजीकाे कर्जा सीमा बढाउन पूर्वका उद्योगी व्यवसायीको सुझाव

काठमाडौं । पूर्वका उद्योगी व्यवसायीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा चालु पुँजीको कर्जाको सीमा बढाउनु पर्ने सुझाव दिएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, उद्योग मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र उद्योग परिसंघ कोशी प्रदेशले नेपाल राष्ट्र बैंकलाई छुट्टा-छुट्टै सुझाव पत्र पठाउँदै सबै उद्योग व्यवसायका लागि एकै प्रकारको चालु पुँजी कर्जाको मापदण्ड व्यावहारिक नहुने बताएका हुन् ।

बैंकमा जम्मा भएको तरलतालाई बजारमा प्रवाह गर्न सक्नुपर्ने उनीहरूको सुझाव छ । बैंकको ब्याजदर घटेपनि अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै बैंकमा तरलता बढेर औधोगिक क्षेत्र र बजारमा आर्थिक प्रवाह हुन नसकेकोमा मौद्रिक नीतिले बैंकमा थुप्रिएको तरलता लगानी हुने विश्वासको वातावरण बनाउनुपर्ने उनीहरूले बताएका हुन् । 

मौद्रिक र आर्थिक नीति सँग-सँगै नहिँडेसम्म मुलुकको आर्थिक गतिविधि चलायमान हुन नसक्ने उनीहरूको ठहर छ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बैंकहरूमा पर्याप्त रहेको तरलतालाई उत्पादनमुलक क्षेत्रमा प्रवाह गरी मुलुकको उत्पादकत्व बढाउन उत्पादनमुलक उद्योगका लागि चालुपुँजी कर्जा वार्षिक कारोबार ४० प्रतिशतबाट ६० प्रतिशत बनाउनुपर्ने बताउनु भयो ।

यस्तै हाल घरजग्गाको हकमा मुल्याङ्कनको ५० प्रतिशतमात्र कर्जा दिने व्यवस्थाले घरजग्गाको कारोबार न्यून भएको भन्दै त्यसलाई ७० प्रतिशत कायम गरी घरजग्गा कारोबारलाई प्रोत्साहित गर्नुपर्ने पूर्वका उद्योगी व्यवसायीले माग छ । 

साना तथा मझौला उद्योग-व्यवसायको हकमा निर्धारित दुई करोडको कर्जा सीमालाई पाँच देखि १० करोड कायम गर्नुपर्ने उनीहरूको माग छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.