काठमाडौं । कृषि औजारहरूको व्यवसायिक उत्पादनमा जुटेका यी हातहरूले मृत अवस्थामा पुगेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई अहिले जीवन्त बनाएका छन् । यी मिहिनेती हातहरू राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरूका हुन् ।
यो काममा करिब ३६ जना प्राविधिक र कर्मचारी झण्डै दुई वर्षदेखि निरन्तर खटिरहेका छन् । आविष्कार केन्द्रले पहिलो चरणमा कारखानाका मेसिनहरूको अवस्था जााच र दोस्रो चरणमा मेशिनहरूको मर्मतसम्भार गरी कुटोकोदालोको परीक्षण उत्पादन थाल्यो । त्यहाँ ६ महिना अघिदेखि विभिन्न किसिमका कृषि औजारहरूको व्यवसायिक उत्पादन भइरहको छ ।
उत्पादित औजारमध्ये धान रोप्ने मेसिन, माछाको भुरा उत्पादन गर्ने मेसिन र खेत जोत्ने मेसिनको बिक्री खुला भएको छ । व्यावसायिक उत्पादन सुरू गरेका कृषि औजारमध्ये धान रोप्ने राइस प्लान्टर, धान काट्ने रिपर, धान गोड्ने, खन्ने बिडर, धान झार्ने थ्रेसर, आलु रोप्ने प्लान्टर, आलु खन्ने डिगर, कोदो काट्ने कटर, प्लास्टिक बनाउने मल्चर, गोबर पेल्ने डङ्ग डिवाटरिङ मेसिन, माटोको भााडा बनाउने पोट्री मेसिन र केराको थामबाट फाइबर उत्पादन गर्ने मेसिन मुख्य हुन् ।
अहिले बजार मागमा आधारित थप कृषि औजार फिस इन्क्युभेटर, राइस प्लान्टर र कल्टिभेटिङ हृविलको उत्पादन धमाधम भइरहेको छ । यस वर्ष करिब २० लाख रुपैयााको औजार बिक्री गर्ने लक्ष्य लिएको केन्द्र अर्को वर्षदेखि उत्पादनसँगै बिक्रीको लक्ष्य पनि बढाउँदै जाने योजनामा छ ।
२०२४ सालमा सञ्चालन भएर २०५९ सालदेखि बन्द भई रूग्ण बनेको कारखाना पुनः सञ्चालन गर्ने अठोट लिएर राष्ट्रिय आविष्कार केन्द्रले दुई वर्षअघि कारखानाको जिम्मा लिएको हो ।
पुन: सञ्चालनका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने गरी केन्द्रले १० वर्षसम्म आफैले सञ्चालन गर्ने र पछि सरकारलाई हस्तान्तरण गर्ने सम्झौता थियो । तर पहिलो वर्षमै सरकारपछि हटेपछि रकमको जोहो गर्न केन्द्रका अध्यक्ष महावीर पुन आफ्नो आत्मकथाको किताब बिक्री गर्न मेचीकाली धाइरहनुभएको छ ।
आधुनिक कृषि औजार उत्पादन गर्न पुराना मेसिनहरू पर्याप्त नभएपछि केही आधुनिक मेसिनहरू खरिद गरेको केन्द्रले हालसम्म कारखानामा करिब तीन करोड रुपैयाा लगानी गरिसकेको छ ।