बजेटमा पूर्वाधार विकास : गौरवका आयोजना पुनरावलोकन गरिने

विकास आयोजनाहरूको संख्या गत वर्षभन्दा ४ हजार ६५४ वटा घटाइयो
जेष्ठ १५, २०८२ |भरत रावल
बजेटमा पूर्वाधार विकास : गौरवका आयोजना पुनरावलोकन गरिने

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गर्ने भएको छ । कतिपय गौरवका आयोजनाको प्रगति नै हुन नसकेपछि सरकारले पुनरावलोकन गर्ने भएको हो । यस्तै गौरवका आयोजना छनोट गर्न पनि स्पष्ट मापदण्ड बनाइने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज सार्वजनिक गरेको बजेटमा विकास आयोजनाहरूको संख्या गत वर्षभन्दा ४ हजार ६५४ वटा घटाइएको छ । संघीय सरकारले कार्यान्वयन गर्ने पूर्वाधारका नयाँ आयोजनामा तीन करोड रुपैयाँभन्दा कम विनियोजन नगर्ने मापदण्ड बनाइएको छ ।

यस्तै बजेटमा ठूला परियोजनाका रूपमा अन्तर्राष्ट्रिय विमानस्थल, राजमार्ग, रेलमार्ग, जलविद्युत् आयोजना निर्माण तथा विस्तारलाई प्राथमिकता दिइएको छ । विवादित बन्दै आएको कालीगण्डकी-तिनाउ डाइभर्सन पनि सरकारको प्राथमिकतामा परेको छ । ८० प्रतिशत काम भएका ठूला आयोजनालाई निरन्तरता दिने र अरूलाई क्रमशः अघि बढाउने सरकारको लक्ष्य छ ।

बजेटमा अर्थमन्त्री पौडेलले आगामी २ वर्षभित्र ४२२ किलोमिटर राजमार्ग क्षेत्रलाई ४ लेनको बनाउने घोषणा गर्नुभयो । यस्तै सिद्धार्थ राजमार्गको डेडिकेटेट डबल लेन विस्तार र पुष्पलाल, मदन भण्डारी, बीपीसहितका राजमार्ग विस्तार तथा कालीगण्डकी, कोशी, महाकाली लगायतका मुख्य करिडोर स्तरोन्नति गर्न बजेट छुट्याइएको छ । कर्णाली करिडोरका लागि १ अर्ब २७ करोड, कालीगण्डकी कोरिडोरका लागि २ अर्ब ३३ करोड, गल्छी-रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड र मदन भण्डारी राजमार्ग विस्तार गर्न २ अर्ब ५१ करोड रुपैयाँ छुट्याइएको छ ।

हुलाकी राजमार्गलाई २ वर्षभित्र पूरा गरिने भएको छ भने आगामी वर्ष आँबुखैरेनी-पोखरा सडक चार लेनमा विस्तार गर्न ८ अर्ब ५२ करोड छुट्याइएको छ । आगामी वर्ष ३७ किलोमिटर सडकमा सब बेस चार किलोमिटर सुरुङ र ६० पुल निर्माण गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता छ । यसका लागि २४ अर्ब ४९ अर्ब विनियोजन गरिएको छ ।

पर्यटकीय चहलपहल बढी हुने क्षेत्रमा सहजताका लागि सिद्धबाबा र नागढुंगा सुरुङ आगामी आर्थिक वर्षमा सम्पन्न गर्न २ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । काठमाडौं–हेटौंडा पडवेको सम्भाव्यता अध्ययन गर्ने पनि बजेटमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गको ४२२ किलोमिटर सडक स्तरोन्नति गर्न २१ अर्ब १९ करोड छुट्याइएको छ । पुष्पलाल मध्यपहाडी मार्गको यात्राको समय तथा दुर्घटना घटाउन रेखांकन परिमार्जन गरिने भएको छ । 

हुलाकी राजमार्ग दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । काठमाडौं–तराई मधेश द्रुतमार्ग आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गर्ने पनि बजेटमा उल्लेख छ ।

कर्णाली राजमार्गको स्तरोन्नति र विस्तार गरिने भएको छ भने रणनीतिक र व्यापारिक महत्त्वका सडकलाई आवश्यक बजेट विनियोजन गरिने भएको छ ।

त्यस्तै शहरी क्षेत्रको विकासका लागि स्मार्ट सिटी र इको भिलेज पूर्वाधारको निर्माण गरिने भएको छ । बागमती लगायत काठमाडौं उपत्यकाका नदीलाई स्वच्छ बनाउन आवश्यक पूर्वाधार निर्माण गर्न ३ अर्ब ४२ करोड विनियोजन गरिएको छ । त्यस्तै पुष्पलाल राजमार्गका १० स्थानमा नयाँ शहर निर्माण गर्न १ अर्ब ७० करोड र सघन शहरी विकास कार्यक्रमका लागि ५ अर्ब विनियोजन गरिएको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।